राजनीति

फरार सांसद कोइरीको बिदा स्वीकृतको निर्णय अर्को अधिवेशनमा 

By खबरहब

April 29, 2023

काठमाडौँ – हत्याका अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाको निर्णय प्रतिनिधिसभाको अर्को अधिवेशनमा हुने भएको छ।

शुक्रबार साँझ बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख देवराज घिमिरेले कोइरीको बिरामी बिदासम्बन्धी प्रस्तावमा सांसदहरूले प्रश्न उठाएकाले अर्को बैठकमा कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी गराएका थिए।

‘माननीय श्री लक्ष्मी महतो कोइरीका बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी गराउँदछु,’ सभामुख घिमिरेले भनेका थिए।

१० दिनसम्म नियमित रूपमा संसद् बैठकमा नआएमा स्वतः पदमुक्त हुने भए पछि सांसद कोइरीले केही दिन आफू बिरामी भएका कारण उपस्थित हुन नसकेको भन्ने पत्र संसद् सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गरे। सत्तारुढ दलका सांसदहरूले पनि आपत्ति जनाउँदै उनलाई पक्राउ गर्न माग गरे। जसका कारण संसद् बैठक केही समयका लागि अवरुद्ध भएको थियो।

कोइरीका कारण सत्तारुढ र प्रतिपक्ष बिचमा आरोप प्रत्यारोप भएपछि पुनः सहमतिका आधारमा अर्को अधिवेशनले निर्णय गर्ने गरी सभामुख घिमिरे मन्जुर भएका थिए।

मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन विकको हत्याको अभियोगमा सांसद कोइरीमाथि जेल सजाय सुनाइएको छ। सो जेल सजाय सुनाएका कोइरी पक्राउ परेका छैनन्।