देश/प्रदेश

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

By खबरहब

May 29, 2023

दिनभर आज नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत, बजेटको प्राथमिकतामा ऊर्जा र सिँचाइ, रास्वपाकी सांसद बिन्दबासिनीले लिइन् शपथ, सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न निर्देशन, १६ औँ गणतन्त्र दिवस मनाइयाे, आममाफी पाएका रेशम चौधरी कारागारबाट रिहालगायत समाचारले प्रमुख स्थान पाए ।

नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री प्रकाशशरण महतले संसदको बैठकमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन ।

यसअघि मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको थियो

बजेटको प्राथमिकतामा ऊर्जा र सिँचाइ

सरकारले आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा ऊर्जा क्षेत्रलाई पुनः परिभाषित गर्दै महत्वका साथ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले केही ठूला आयोजनाको निर्माण सुरु गर्ने र प्रसारण लाइन निर्माणलाई पनि उत्तिकै महत्व दिएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने विषयलाई स्पष्टसँग सरकारले आफ्नो बजेटमा उल्लेख गरेको छ । आगामी आवको बजेटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत बूढीगण्डकी जलविद्युत् परियोजनाका सम्बन्धमा रहेको अन्यौलतासमेत हटेको छ । सो आयोजना निर्माणका लागि सरकारले यसअघि नै कम्पनी स्थापना गरिसकेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज प्रस्तुत गरेको आगामी आवको बजेटअनुसार रणनीतिक महत्वका आयोजनामा रुपमा रहेका पश्चिम सेती, सेती रिभर, तल्लो अरुणको निर्माण सुरु गरिनेछ । सुक्खायामको बिजुली व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको बूढीगण्डकी र दूधकोशी जलाशययुक्त आयोजनाको निर्माण सुरु गर्ने विषयलाई बजेटमा समावेश गरिएको छ ।

यस्तै, सङ्घीय, प्रदेश र स्थानीय सरकारको समेत लगानीमा एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुणका साथै चैनपुर सेती, जगदुल्ला, तामाकोशी पाँचौँ, सिम्बुवा खोला र घुन्सा खोला जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने विषयलाई बजेटले महत्व दिएको छ ।

त्यसैगरी सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा बिजुली पुर्‍याउने कार्यक्रमलाई निरन्तरता दिएको छ । केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा लघु तथा साना जलविद्युत् आयोजना र सौर्य परियोजनामार्फत बिजुली पुर्‍याउने सरकारको लक्ष्य छ । आयातित इन्धनको प्रयोग कम गर्न सरकारले प्रतिव्यक्ति विद्युत् खपत चार सय ५० किलोवाट घण्टा पुर्‍याउने लक्ष्य लिएको छ ।

कुल जडित क्षमता तीन हजार छ सय मेगावाट पुग्ने

आगामी आवमा कूल जडित क्षमता तीन हजार छ सय मेगावाट बराबर पुग्ने भएको छ । चालु आवमा र आगामी आवमा समेत थप हुने बिजुलीको मात्राका आधारमा जडित क्षमतामा समेत उल्लेख्य परिवर्तन हुनेछ । आगामी आवमा एक सय ११ मेगावाट क्षमताको रसुवागढी, १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी, तल्लो साञ्जेनलगायतका आयोजनाबाट थप नौ सय मेगावाट बराबरको बिजुली थप हुनेछ । निर्माणाधीन आयोजनालाई शीघ्र निर्माण सम्पन्न गर्न सरकारले यसपटक पनि विशेष जोड दिएको छ ।

यसैगरी सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार सन् २०४५ शून्य कार्बन उत्सर्जनको रणनीतिअनुसार हरित ऊर्जाको प्रयोगलाई बढावा दिने लक्ष्य राखेको छ । बायोग्यास, बायो डिजेल उत्पादनलगायत वैकल्पिक ऊर्जाका लागि रु एक अर्ब ७४ करोड बराबरको बजेट विनियोजन गरिएको छ । सरकारले ऊर्जा क्षेत्रका लागि कूल रु ८७ अर्ब ४५ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

बजेटले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि निजी क्षेत्रको समेत लगानी रहने गरी चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको छ । यस्तै, आन्तरिक तथा अन्तरदेशीय प्रसारण प्रणालीको विकासका लागि सरकारले महत्वका साथ बजेट विनियोजन गरेको छ । नदी करिडोर प्रसारण लाइन, उत्तर दक्षिण करिडोर निर्माणमा पनि उत्तिकै ध्यान दिएको छ । त्यसमा कर्णाली करिडोर, भेरी र अरुण करिडोरलगायत छन् ।

प्रसारण प्रणालीको सुधारलगायतका आयोजनाका लागि सरकारले रु ३८ अर्ब ३२ करोड बराबरको बजेट बिनियोजन गरेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्ने र व्यावसायिक संस्थासरह ऋण लिने र लगानी गर्नका लागि आवश्यक प्रबन्ध गरिएको छ । यस्तै, एचआइडिसीएलको पुनःसंरचना गर्ने व्यवस्था बजेटमा गरिएको छ ।

सिचाँइमा लगानी खेतबारीमा पानी

कृषि क्षेत्रमा उत्पादकत्व वृद्धिका लागि सरकारले ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नारा तय गरेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पदकत्व वृद्धिका ठूला जलाशययुक्त बहुउद्देश्यीय प्रकृतिका आयोजना निर्माण गर्ने भएको छ । यस्तै, नदी पथान्तरण आयोजनालाई अगाडि बढाउने सरकारको योजना छ ।

वर्षभरि सतह र भूमिगत सिँचाइ प्रणालीको विकास गर्ने लक्ष्य राखिएको छ । सिक्टा सिँचाइको मूल नहर निर्माण र थप सञ्जाल विस्तारका लागि रु ८० करोड, रानी जमरा कुलरिया आयोजनाका लागि रु दुई अर्ब ६३ करोड, बबई सिँचाइ आयोजनाका लागि रु ६३ करोड महाकाली सिँचाइका लागि रु एक अर्ब १७ करोड बजेट विनियोजन गरिएको छ ।

तराई मधेसको एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउनका लागि निर्माण भइरहेको सुनकोशी मरिण आयोजनाको बाँध तथा विद्युत् गृह निर्माण गर्ने लक्ष्य राखिएको छ । सो परियोजनाका लागि रु चार अर्ब १७ करोड बराबरको बजेट तय गरिएको छ । यस्तै, भेरी बबई परियोजनाको बाँध तथा विद्युत् गृह निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

दाङ देउखुरी सिँचाइ र बृहत् दाङ उपत्यका सिँचाइ आयोजना र कर्णाली प्रदेशका टारमा सिँचाइ सुविधा पुर्‍याउन एकीकृत कर्णाली सिँचाइ आयोजना अगाडि बढाइ रैथाने बालीको संरक्षण गर्ने लक्ष्य राखिएको छ । सुनसरी मोरङ, चन्द्रनहरलाई पूर्ण क्षमतामा अगाडि बढाउने लक्ष्य राखिएको छ । त्यसबाट थप १८ हजार चार हेक्टर बराबरको सिँचाइ सेवा पुग्नेछ ।

आममाफी पाएका रेशम चौधरी कारागारबाट रिहा

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी ६ वर्ष पछि आज जेलमुक्त भएका छन्।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरे पछि उनी रिहा भएका हुन्।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहानै जेलमुक्त भएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भए पछि सो पार्टीका नेता/कार्यकर्तालाई डिल्लीबजार कारागार परिसरमा पुगेका थिए।

टिकापुर नरसंहारमा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको सुनाएको फैसलालाई गत जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो। न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको फैसला सदर गरेको १३औं दिनमा चौधरीलाई आममाफी दिइएको हो।

२०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले साविक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैद तथा ज्यान मार्ने उद्योगतर्फ १५ नम्बर बमोजिम ५ वर्ष कैद सजाय सुनाएको थियो। २०७७ पुस २ मा उच्च अदालत दीपायलले जिल्ला अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाए पछि उनी रिहा हुन सकेका थिएनन्।

उच्च अदालतको सो फैसलालाई पनि सर्वोच्च अदालतले सदर गरेपछि उनी कानुनतः २०९४ सालसम्म जेल सजायमा बस्नु पर्ने थियो। तर, सरकारले गणतन्त्र दिवसको अवसरमा आममाफी दिने निर्णय पछि उनी १४ वर्ष अघि नै जेलमुक्त भएका छन्।

२०७४ फागुनमा पक्राउ परेका उनीमाथि टिकापुर नरसंहारमा एक बालकसहित ९ जना सुरक्षाकर्मीको बीभत्स तथा निर्मम तरिकाले हत्या गरेको अभियोग छ। उनी २०७४ सालको आमनिर्वाचनमा उनी कैलाली–१ बाट निर्वाचित भएका थिए।

यसैबीच, चौधरीले टीकापुर घटनामा अनुसन्धान गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएकाले यसलाई सामान्य घटनाको रुपमा लिन नहुने भन्दै उच्चस्तरीय छानविन आयोग गठन गरेर प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन् । यसका लागि धरातलमा गएर नागरिकसंग बुझेर घटनाका बारेमा विस्तृत जानकारी लिनुपर्ने उनको भनाइ छ ।

उनले टीकापुर घटनामा कथा एउटा, पटकथा अर्को र फिल्म फरक देखाइएको टिप्पणी गरे । त्यही फिल्मको रणभुल्लमा जनता परेपनि वास्तविकता भने फरक रहेको उनले बताए । चौधरीले टीकापुर घटनाको वास्तविकतालाई छिटै बाहिर ल्याउनका लागि आफूले पनि केही पहलकदमी लिने जिकिर गरे । उनले आम माफी पाएर आफू रिहा भएपनि आफूहरू हार्यो कि जित्यौ भन्ने कुराको अनुभूत जनतामाझ गराउनुपर्ने धारणा राखे । चौधरीले टीकापुर घटनालाई कस्तो रूप दिने भन्ने कुरा राज्यले नै निर्क्यौल गर्नुपर्ने जिकिर गरे ।

उनले टीकापुर घटनालाई राजबन्दीहरूलाई आफूजस्तै छिटो रिहा गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिए । चौधरीलाई उनका समर्थकले नेपालगंजमा भव्य स्वागत गरेका थिए ।

रास्वपाकी सांसद बिन्दबासिनीले लिइन् शपथ

रास्वपाकी बिन्दवासिनी कंसाकारले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई संघीय संसद्को लोगो प्रदान गरेका थिए ।

व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न आफूलाई दुई करोड रुपैयाँ चाहिएको भन्दै मागेको फोन संवादको अडियो सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो ।

सात दिनभित्र संसदीय समिति सभापति चयन गर्न निर्देशन

सभामुख देवराज घिमिरेले सात दिनभित्र संसदीय समितिका सभापति चयन गर्न निर्देशन दिएका छन् । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिन नसकेको भन्दै सात दिनभित्र चयन गर्न निर्देशन दिएका हुन् ।

संसदीय समितिको नेतृत्वबारे दलहरूको ध्यानाकर्षण गराउँदै उनले समिति र उपसमिति ज्येष्ठ सदस्यले नै नेतृत्व गरिरहेको भए पनि सभापति चयन नहुँदा विधेयकमाथिको छलफलले गति लिन नसकेको जानकारी गराएका हुन् ।

‘संसदीय समितिहरुको नेतृत्व चयन नहुँदा कामले गति लिएको छैन । ज्येष्ठ सदस्यले समितिको नेतृत्व गरिरहनुभएको छ । उपसमिति पनि ज्येष्ठ सदस्यले नै नेतृत्व गर्नुभएको छ,’ बैठकमा सभामुख घिमिरेले भने, ‘सभापति चयन नहुँदा विधेयकहरूको छलफलले गति लिएको छैन । तपाईँहरूले आजको मितिबाट सात दिनभित्रमा सहमतिमा सभापति चयन गर्नुहोस् । अथवा, सात दिनपछि प्रक्रिया (निर्वाचन) बाट नेतृत्व चयन गर्न मलाई सहयोग गर्नुहोस् ।’

गत १९ चैतमा प्रतिनिधि सभा नियमावली २०७९ पारित भएपछि १५ वैशाखमा प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन गरिएको थियो । यसपछि २ जेठमा प्रतिनिधिसभाका १० वटा विषयगत समितिको पहिलो बैठक बसेको थियो भने बैठकको सभापतित्व ज्येष्ठ सदस्यले गरेका थिए ।

१६ औँ गणतन्त्र दिवस मनाइयाे 

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरिएको छ।

१६ औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललगायतको उपस्थितिमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको हो ।

समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, लगायतको उपस्थिति रहेको थियो।

गणतन्त्र मूल समारोह समितिद्वारा आयोजित समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा मार्चपास गरियो ।

त्यस अवसरमा सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले राष्ट्र र राष्ट्रियता उजागर गर्ने गीत–सङ्गीतका धुन प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा काठमाडौँ, भक्तपुर र ललितपुर महानगरपालिका क्षेत्रका परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत भयो ।

देशैभर लम्पीस्किन फैलिँदै, तनहुँका छ सय ४६ पशुमा संक्रमण

अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको उनले बताए । लम्पीस्किनको सङ्क्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताए ।

उनका अनुसार आँबुखैरेनीमा दुई सय ३५, भिमाद नगरपालिकामा एक सय ८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको सङ्क्रमणबाट प्रभावित भएका छन् । म्याग्दे गाउँपालिकाको हालसम्म तथ्यांक नआएको उनले बताए ।

ऋषिङ गाउँपालिकामा भने कम सङ्ख्यामा पशुमा सङ्क्रमण देखिएको उनले बताए । डा श्रेष्ठका अनुसार सङ्क्रमण भएका पशुमध्ये ४३ गाईगोरु मरेका छन् । आँबुखैरेनीमा १६, भिमादमा ११, घिरिङमा ११, बन्दीपुरमा दुई, देवघाटमा दुई र म्याग्देमा एक गाईगोरु लम्पीस्किनको सङ्क्रमणबाट मरेको उनले बताए । “खासगरी यस रोगबाट मर्ने नै अवस्था होइन, तर समयमा पशुपालक किसान, स्थानीय सरकार र विज्ञ केन्द्र नै सचेत हुनुपर्ने हुन्छ”, उनले भने ।

व्यवसायिकरुपमा बढी पशु पालिएका क्षेत्रमा सङ्क्रमण फैलिए बढी नोक्सान हुनसक्ने उनको भनाइ छ । ‘यसको निर्मूल तथा नियन्त्रणका लागि पालिका मुख्यरुपमा सचेत हुनुपर्छ, यसका लागि सर्कुलेशन गरिसकेका छौँ’, उनले भने, ‘विशेषगरी लम्पीस्किन लागिसकेका पशुको उपचार र नियन्त्रणका मुख्य उपाय नै खोप हो, यसका लागि पालिकाका सचेतता आवश्यक छ, पालिकाले खोप खरिद गर्नुपर्छ ।’ खोप लगाएर पशुवस्तुको ‘इम्युनिटी पावर’ वृद्धि गर्नुपर्ने उनले बताएका छन् ।

व्यास–५ चिन्टुटारका पशुपालक किसान नरे नेपालीले केही दिनअघि एउटा गाईमा लम्पीस्किन देखिएको बताए । लम्पीस्किन देखिएकाले विज्ञ केन्द्रमा पशुवस्तुको उपचार तथा रोग नियन्त्रणका लागि जानकारी गराउन आएको उनले बताए ।

सोही ठाउँका बलबहादुर दरैले भने , ‘चार-पाँच दिनअघि मात्रै एउटा गाईमा लम्पीस्किन देखिएको थियो, अहिले फेरि अर्कोमा देखिएको छ, यसको उपचार तथा नियन्त्रणका बारेमा जानकारी लिन विज्ञ केन्द्रमा आएका हौँ ।’ पशुपालकको मुख्य आय नै दूध बिक्री भएको र यसरी रोग लागेपछि दूध बिक्री गर्न पाइँदैन भने आम्दानी कसरी गर्ने भन्ने समस्या भएको कृषक दरैले बताए ।

खोपको व्यवस्थापन गरी सङ्क्रमण भएका गाईवस्तुलाई छुट्टै स्थानमा राख्न डा श्रेष्ठले अनुरोध गरे । ‘लम्पीस्किन भएका गाईवस्तुलाई आइसोलेशन गरेर उपचार गर्ने र दूध बिक्री गर्नुहुदैन, दूध तथा सङ्क्रमण भएका गाईलाई स्याहारसुसार गरी अर्कोतर्फ जाँदा मान्छेको माध्यमबाट पनि यो रोग सर्न सक्छ, त्यसले गर्दा सचेत हुनुपर्छ’, उनले भने ।

लम्पीस्किन भाइरल रोग हो । झिँगा, लामखुट्टे, विभिन्न किराबाटको टोकाइबाट जोगाउनुपर्ने हुन्छ । यो रोगको सङ्क्रमणले पशुमा फोका निस्कने हुन्छ । यस रोगको सङ्क्रमणले पशुवस्तुलाई कमजोर बनाउने गर्दछ ।

सङ्क्रमण भएका पशुवस्तुलाई अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, जैविक सुरक्षा गर्नुपर्ने अवस्था रहेको छ । सकेसम्म आइसोलेशन गर्ने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाएर बचाउन सकिने विज्ञ केन्द्रले जनाएको छ ।