फाइल तस्वीर

राजनीति

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान

By खबरहब

August 29, 2023

मकवानपुर– बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।

सोही दिनको ११ः३० बजे संसद् सचिवालयमा कार्यपरामर्श व्यवस्थापन समितिको बैठक बसेर अपराह्नमा बस्ने संसद् बैठकको लागि कार्यसूची तयार पार्ने भएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

गत असार २१ गते बसेको प्रदेशसभाको बैठकले सरकारको विभिन्न दुई वटा विधेयक पारित गरिएपछि अर्को सूचना जारी नभएसम्मको लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरेका थिए ।

उक्त दिन बस्ने बैठकमा प्रदेशसभाका सदस्यलाई उपस्थित हुन सूचना सम्प्रेषित गरिसकेको पनि प्रदेशसभा सचिवालयले जनाएको छ । त्यसैगरी बागमती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट एउटा नयाँ विधेयक आज दर्ता गरिएको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको विधेयक विज्ञान प्रवृत्ति, नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन गर्न बनेको विधेयक, २०८० रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।