अन्य

सार्वजनिक र पशु स्वास्थ्यसम्बन्धी छलफलमा नेपाल र भारतका विज्ञ

By खबरहब

September 29, 2023

काठमाडौँ- पशुबाट मानव तथा मानवबाट पशुमा सर्ने विभिन्न रोगका सम्बन्धमा भइरहेको अनुसन्धान र नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ क्षेत्रका विज्ञले छलफल थालेका छन् ।

नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ एशोसिययको संयुक्त आयोजनामा आजदेखि राजधानीमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । सम्मेलनमा खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य, पशुस्वाथ्यलगायत क्षेत्रमा भइरहेका अनुसन्धान, त्यसले ल्याएको नतिजा, आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने भेटेरिनरी पब्लिक हेल्थ एशोसियसन नेपालका अध्यक्ष डा मुकुल उपाध्यायले जानकारी दिए ।

उनका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका करिब एक सय ५० विज्ञको सहभागिता छ । सम्मेलनका क्रममा ५० भन्दाबढी कार्यपत्र प्रस्तुत हुनेछ । छलफलको निष्कर्ष नेपाल र भारतका सरकारलाई बुझाउने डा उपाध्यायाको भनाइ छ । राष्ट्रिय भेटेरिनरी सेवालाई सवलीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनले बताए ।

“धेरै रोग पशुबाट मानवमा र मानवबाट पशुमा सर्ने पाइएको छ । यसलाई नियन्त्रण गर्न एक देशले मात्रै नसक्ने भएकाले क्षेत्रीय प्रयासको खाँचो आवश्यक छ”, उनले भने, “त्यसका लागि नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ क्षेत्रसँग सम्बन्धित विज्ञको सम्मेलन आयोजना गरिएको हो ।”

सम्मेलनका क्रममा दक्षिण एसिया क्षेत्रमा पशुबाट मानवमा सर्ने रोग, त्यसको नियन्त्रण तथा त्यस्ता रोगका सम्बन्धमा भएका अनुसन्धानलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, डिन, उपकुलपतिलगायतको सहभागिता रहेको छ ।  सम्मेलनको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्यसुरक्षालगायत क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए ।

जुनेटिक (जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सजिलैसँग सर्न सक्ने रोग) र अन्य सङ्क्रामक रोगको नियन्त्रण तथा खाद्य सुरक्षामा जनस्वास्थ्य र पशुचिकित्सा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले जनस्वास्थ्य क्षेत्रलाई सबल बनाउन सरकार गम्भीर रहेको बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले भेटेरिनरी क्षेत्रको अध्ययन अनुसन्धानमा सक्रिय व्यक्तित्वलाई सम्मान गरेका थिए ।