क्रिकेट

जसले क्रिकेटमा मौका पाउने बित्तिकै जादु देखाए

By मनोज घिमिरे

October 29, 2023

जारी विश्वकपमा थुप्रै रोमाञ्चक मोड आए। यी रोमाञ्चक मोडमा न्युजील्यान्ड र अस्ट्रेलिया बिचको खेल नै हो। उपाधिको दाबेदार यी दुई टोलीका बिच भएको खेलमा अस्ट्रेलिया पाँच रनले विजयी भयो। सो जितमा टेभिस हेडको सानदार ब्याटिङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

अस्ट्रेलियाले विश्वकपमा खराब सुरुवात गरेको थियो। सुरुवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग अस्ट्रेलिया पराजित भएको थियो। यसपछिका खेलमा सानदार कम ब्याक गरेको अस्ट्रेलियाले तेस्रो खेलमा श्रीलङ्कालाई हराउँदै पहिलो पटक अङ्क बटुलेको हो।

लगातार चार खेलमा जित हात पारेको अस्ट्रेलियाले नेदरल्यान्ड्ससँगको खेलमा त केही महत्त्वपूर्ण कीर्तिमान समेत कायम गरेको थियो। तथापि नेदरल्यान्ड्ससँगको खेल केही कारणले विशेष थियो।

विश्वकपमा सबै भन्दा धेरै रनको योगफल पछ्याएर कीर्तिमान पाकिस्तानले कायम गरेको थियो। यस कीर्तिमान पछ्याउने क्रममा न्युजील्यान्ड थियो। अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको लक्ष्य पछ्याउने क्रमको नजिक न्युजील्यान्ड पुगे पनि अन्तिममा जित अस्ट्रेलियाले हात पार्दा ६७ बलमा १ सय ९ रन प्रहार गरेका हेड खेलका म्यान अफ द म्याच भए।

उनको विश्वकपमै यो पहिलो खेल थियो। कत्तिसम्म भने चोट सँगको सङ्घर्षका कारण उनी यो विश्वकप टोलीमा समावेश हुने सम्भावना समेत यस अघिका खेलमा कमै मानिएको थियो।

हेड केही समय मैदान बाहिर बिताएपछि खेलको अघिल्लो दिन २० मिनेट नेटमा अभ्यास गरेका थिए। यस अघिका खेलमा मिचेल मार्सको जोडी डेभिड वार्नरसँग खासै जमेको थिएन।

अस्ट्रेलिया तेस्रो खेलदेखि कम ब्याक गर्दा वार्नर प्रभावकारी देखिए पनि हेड देखिएका थिएनन्। यसै कारण अस्ट्रेलियाको टोली विकल्पको खोजीमा थियो।

विश्वकपमा न्युजील्यान्डका बलर एकदमै लयमा थिए। यसै कारण हेडका लागि सो खेल सहज थिएन। सुरुका दुई बलमा त उनले एकदमै कठिनाइको महसुस गरेका थिए। जब हेडको ब्याटिङको जादु चल्न सुरु भएको थियो, त्यसपछि नै अस्ट्रेलिया खेलमा हाबी भएको थियो।

त्यसो त विश्वकपमा अस्ट्रेलिया स्पिनका सामु कमजोर भएकै हो। न्युजील्यान्डसँग पनि ग्लेन फिलिप्सको घातक १० ओभरका कारण अस्ट्रेलिया ४ सय रनको आँकडा पार गर्न असमर्थ भएको थियो। फिलिप्सले १० ओभरमा ३७ रन खर्चेर शीर्ष तीन ब्याट्सम्यानलाई आउट गरेका थिए।

विश्वकपमा दक्षिण अफ्रिका पनि नपत्याउँदो ढङ्गले अघि बढेको छ। विश्वकप अगाडि दक्षिण अफ्रिकालाई सेमिफाइनल प्रवेशका लागि समेत दाबेदार मानिँदैन थियो। तथापि दक्षिण अफ्रिकी टोलीको ब्याटिङ अचम्मको देखिएको छ।

पहिले ब्याटिङ गर्दा त दक्षिण अफ्रिकाका लागि सबै खेलमा तीन सय रनको आँकडा पार गर्नु सहजै जस्तै देखिन थालेको छ। चाहे त्यो जुनसुकै पिच किन नहोस्।

दक्षिणी अफ्रिकाको यात्रामा प्रारम्भिक ब्याट्सम्यान क्वीन्टन डी ककले सुरुवाती ६ खेलमा तीन शतक प्रहार गरेका छन्। यसै सत्तकका कारण उनी सबै भन्दा धेरै रन प्रहार गर्ने खेलाडीको सूचीमा छन्। दक्षिणी अफ्रिकी जितमा आइडम मकरामले एक पछि अर्को खेलमा रन प्रहार गरीरहेका छन्।

पहिलो खेलमा उनले श्रीलङ्कासँग ४९ रनमा शतक प्रहार गर्दै कीर्तिमान कायम गरेका थिए। तथापि त्यो कीर्तिमान १८ दिनमा भङ्ग भएको थियो। सातौँ अर्डरका ब्याट्सम्यान मार्को यान्सन हार्ड हिटर हुन्। साथै उनी ओपनर बलर पनि हुन्। हरेक खेलमा पावर प्लेमा विकेट लिने क्रम छैटौँ खेलसम्म कायम रहेको छ।

जारी विश्वकपमा यी आरोह र अवरोहमा दक्षिण अफ्रिकाका कप्तान टेवा बभुमा सुरुवाती तिन चरणमा असफल रहेका थिए। दक्षिण अफ्रिका विकल्पको खोजीमा थियो।

सुरुको दुई खेलमा जित हात पारेको दक्षिण अफ्रिका पनि नेदरल्यान्ड्ससँगको हारले स्तब्ध थियो। यसै कारण चौथो खेलमा विकल्पको रूपमा रेजा हेन्ड्रीक्सलाइृ ल्याइएको थियो।

सो खेल पनि अचम्मको भएको थियो पारीको दोस्रो बलमा क्वीन्टन डी कक आउट भएपछि दक्षिण अफ्रिका धरमराएको थियो। यसपछि हेन्ड्रीकमा अझ धेरै दबाब थपिएको थियो। हेन्ड्र्रीकले सोही खेलमा ७५ बलमा ८५ रन प्रहार गरे। उनको यसै पारी दक्षिण अफ्रिकाका लागि प्रभावकारी साबित भएको थियो। दक्षिण अफ्रिकाले ३ सय ९९ रनको योगफल खडा गर्दै २ सय २९ रनको फराकिलो रन अन्तरको जित हात पारेको थियो।

उनी मात्र होइन पाकिस्तानका अब्दुल्ला सफिकको भूमिका पनि त्यत्ति नै छ। उनले एक दिवसीय खेलको सङ्ख्या पनि दोहोरो अङ्कमा छोएको छैन। भर्खरै पाकिस्तानको राष्ट्रिय टोलीमा प्रवेश पाएका उनका लागि विश्वकप टोलीमा प्रवेश पाउनु त सपनाको कुरा थियो। यसै विश्वकपमा पाकिस्तानका प्रारम्भिक जोडी नेदरल्यान्ड्ससँगको पहिलो खेलमा प्रभावकारी भएको थिएन।

नेदरल्यान्ड्ससँगको खेल मार्फत पाकिस्तानले यस विश्वकपमा जितको सुरुवात गरेको थियो। सो खेलमा फाकर जमाम र इमाम उल हकको प्रारम्भिक जोडी पाकिस्तानले प्रयोग गरेको थियो। सो खेलमा असफल भएपछि दोस्रो खेलमा पाकिस्तानले ब्दुल्लासफिकलाई प्रयोग गरेको थियो।

सफिकले १ सय ३ बलमा १ सय १३ रन प्रहार गरे। पहिलो विश्वकप खेलमा नै कीर्तिमान कायम गरेर उनले सनसनी फैलाए। उनले एकाध खेलमा मात्र यस अघि पाकिस्तानको प्रतिनिधीत्व गरेका थिए।

विश्वकपमा पाकिस्तानको यात्रा सायद सेमिफाइनलसम्म पुग्ने छैन। अहिलेको अङ्क तालिकाको समीकरणले त्यसलाई कठिन बनाइ सकेको छ।

श्रीलङ्कासँग ३ सय ४५ रन प्रहार गरेर बनाएको कीर्तिमानी जित भने कायम नै रहने छ। सोही जितमा अब्दुल्लाहको भूमिका पनि त्यत्तिकै छ।

पाकिस्तान यसै विश्वकपमा अफगानिस्तानसँग पराजित भइसकेको छ। सो खेलमा पाकिस्तानलाई हराउने क्रममा टिन एजर स्पिनर नुर अहमदको भूमिका त्यत्तिकै थियो। अहमदले सो खेलमा अहमदले १० ओभरमा ४९ रन खर्चेर तीन विकेट लिएका थिए। यो बलिङका कारण अफगानिस्तान पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा जित हात पार्न सफल भएको हो।

यस्ता अन्य धेरै स्टारको उदय विश्वकपमा हुन सक्ने छ। तथापि दबाबका बिच मौका पाउने बित्तिकै कमाल देखाउनु भने चानचुने होइन। स्रोतः क्रीक इन्फो, स्टार स्पोट्स