ब्रेकिङ स्टोरी

देशका पहाडी भूभागमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

By खबरहब

November 29, 2023

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै भारतको राजस्थान आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

गण्डकी, कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा, हिमपात र देशभरको तापक्रम गिरावटबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३५ मिनेट र सूर्यास्त साँझ ५ बजेर ८ मिनेटमा हुनेछ ।