ब्रेकिङ स्टोरी

रास्वपाका सबै सांसद केन्द्रीय सदस्यमा मनोनित, डा. वाग्ले उपसभापति बन्ने निश्चित

By खबरहब

November 29, 2023

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरु केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले बताए ।

यसअघि रास्वपाले पार्टीका तर्फबाट प्रतिनिधिसभामा सदस्य रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको थियो । गए राती बसेको रास्वपाका उच्च नेताहरुको बैठकले यस्तो तयारी गरेको थियो ।

बैठकमा उपस्थित एक नेताका अनुसार अहिले नै प्रतिनिधिसभा सदस्यहरुलाई केन्द्रीय सदस्य बनाएर दोहोरो भूमिका दिने की नदिने भन्नेबारे लामै बहस चलेको थियो । तर, उनीहरुलाई केन्द्रीय समितिमा ल्याएर पार्टी अझ बलियो बनाउने भन्ने मत बढी भएकाले यस्तो निर्णय भएको ती नेताले जानकारी दिए ।

उनले भने, ‘यस विषयमा मंगलबार मध्यराति पनि गहन छलफल भएको थियो ।’

रास्वपाको केन्द्रीय समिति बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा जारी छ । आज अन्तिम दिनको बैठकमा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेस गर्ने छन् ।

बैठकमा सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने वा नबनाउने भन्नेबारे पनि बहस भएको थियो । यो विषयमा पनि रास्वपामा दुई मत छ । तर, उच्च स्रोतका अनुसार पार्टी विधानमा २ जना उपसभापती रहने प्रावधान रहेकाले वाग्ले नै उपसभापति बन्ने निश्चित छ ।

उपसभापतिमा महिला हुनुपर्ने आवाज उठेपनि वाग्लेलाई नै उपसभापति बनाउन लामिछानेले फाइनल गरेको बुझिएको छ ।