समाचार

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने

By खबरहब

November 29, 2023

काठमाडौं- सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसकेपछि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् ।

गत १७ कात्तिकमाम जाजरकोट बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएको छ ।