अन्तर्राष्ट्रिय

युद्धविरामको समयावधि बढाउन इजरायल र हमासबीच वार्ता

By खबरहब

November 29, 2023

जेरुसलेम- यसअघिको युद्धविराम सम्झौताको समयसीमा सकिनै लाग्दा इजरायल र हमासले युद्धविरामको समयावधि थप बढाउने विषयमा वार्तालाई निरन्तरता दिएका छन् । युद्धविराम सम्झौता सकिनु केही घण्टामात्रै बाँकी रहेका बेला मध्यस्थकर्ताका माध्यमबाट दुई पक्ष छलफलमा जुटेका हुन् ।

हमासले पछिल्लो युद्धविराम अवधिमा गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी बन्धक बनाएका २ सय ४० मध्ये ६० बन्धकलाई रिहा गरिसकेको छ ।

यीमध्ये २१ ज्ना विदेशी नागरिक पनि रहेका छन् । जवाफमा इजरायलले पनि १ सय ८० जना प्यालेस्टाइनी बन्दीहरुलाई रिहा गरिसकेको छ ।

यसअघि ४ दिनका लागि युद्धविराम सम्झौता भएपनि गत मंगलबार दुबै पक्ष थप ४८ घण्टा युद्धविराम लम्ब्याउन राजी भएका थिए । दुबै पक्ष युद्धविराम सम्झौतालाई थप लम्ब्याउन तयार भएपनि यसबारे औपचारिक सम्झौता भइसकेको छैन ।

कतार र इजिप्टको मध्यस्थतामा वार्ता भइरहेको प्यालेस्टाइनी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

वार्ता भइरहेकोबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले टिप्पणी गर्न अस्वीकार गरेको छ ।