अन्तर्राष्ट्रिय

७ दशकदेखि दाउरा भन्दै श्रीलंकाको दालचिनी चीन निर्यात हुने गरेको खुलासा

By खबरहब

November 29, 2023

कोलम्बो- विगत सात दशकदेखि श्रीलंकाबाट बहुमूल्य दालचिनी दाउराका रुपमा चीनतर्फ निर्यात भइरहेको पाइएको छ । श्रीलंका पोदुजन पेरामुना पार्टीका सांसद यादामिनी गुणवर्देनाले यसबारे मन्त्रीस्तरीय समितिमा कुरा उठाएपछि यस विषयमा चर्चा सुरु भएको हो ।

श्रीलंकाको निर्यात विकास बोर्डले यसबारे चीनसँग कुरा राखेको श्रीलंकाली सञ्चार माध्यमले जनाएका छन् । गत साता निर्यात विकास बोर्डले अबदेखि दालचिनीलाई खाद्य उत्पादनका रुपमा चीनतर्फ निर्यात गरिनेबारे उक्त समितिलाई जानकारी गराएको थियो ।

श्रीलंकामा उत्पादन हुने दालचिनी, दालचिनीको तेल र अन्य बहुमूल्य वस्तुहरुलाई उचित श्रेणिमा स्तरीकरण गरेरमात्र विदेश निर्यात गर्न सांसदहरुले माग गरेका छन् । स्रोतका अनुसार बहुमूल्य दालचिनी दाउराका रुपमा चीनतर्फ निर्यात दशकौँअघि बन्द भइसक्नुपर्थ्यो ।

यद्यपि विदेश मन्त्रालय र निर्यात विकास बोर्डले आफ्नो जिम्मेवारी पूरा नगरेको श्रीलंकाबाट प्रकाशित हुने आइल्याण्ड अखबारले जनाएको छ ।