फाइल तस्बिर

ब्रेकिङ स्टोरी

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

By खबरहब

December 29, 2023

काठमाडौं – जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

उनको सजायका लागि पुस २५ मा पेसी तोकिएको छ ।

लामिछानेले पीडितलाई नगरकोट घुमाएर काठमाडौंमा ल्याई होटलमा राखेर करणी गरेको अदालतले ठहर गरेको छ ।

तर, अदालतले पीडित गौशाला-२६ को जन्ममिति २०६१ असार १८ गते भएको भन्दै उनलाई नाबालिग भने ठहर गर्न नसक्ने बताएको छ ।

तर, नाबालिग नभए पनि पीडितको आर्थिक अवस्था र बयान समेतलाई ध्यान दिँदा करणी सहमतिमा नभएको देखिएको अदालतले भनेको छ ।

अदालतले सीसीटिभी फुटेज, पीडितको बकपत्र, साक्षीको बयान लगायतका तथ्यलाई निर्णय आधारका रुपमा लिएको छ । फैसलाको पूर्णपाठ भने पछि आउने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

क्रिकेटको राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले ०७९ भदौ ५ गते आफूलाई बानेश्वरबाट नगरकोट घुमाउन लगेको र राति काठमाडौं एयरपोर्ट नजिकै होटल काठमाडौं इनमा लगेर जबरजस्ती करणी गरेको आरोप सहित एक किशोरीले ०७९ भदौ २१ गते प्रहरी समक्ष उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा लामिछाने वेष्ट इण्डिजमा क्रिकेट खेलेर फर्कँदा त्रिभुवन विमानस्थलबाटै ०७९ असोज २० मा पक्राउ परेका थिए ।

यस्ता छन् सन्दीपको मुद्दाका तथ्य-

क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बालिका बलात्कारसम्बन्धी मुद्दाका केही तथ्य यस्ता छन् :

– नाबालिकालाई होटलमा बलात्कार गरेको अभियोगमा २०७९ असोज २० गते सन्दीप लामिछाने पक्राउ ।

– २०७९ कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता । १५ गतेदेखि १८ सम्म थुनछेक बहस ।

– २०७९ कात्तिक १८ गते न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश ।

– २०७९ मंसिर ६ देखि १४ गतेसम्म ६ पटक वयान र बकपत्रका लागि पेशी ।

– २०७९ पुस १२ गते न्यायाधीश हिमलाल बेलबासेको एकल इजलासबाट प्रमाण बुझ्ने आदेश ।

– जिल्लामा पेशी चढिरहेका बेला थुनामा राख्ने आदेशविरुद्ध सन्दीपद्वारा उच्च अदालत पाटनमा निवेदन दर्ता । ०७९ पुस २८ मा पाटन उच्च अदालतद्वारा केही शर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले तोकेका शर्तहरुमा विदेश जान नपाउने, काठमाडौंबाहिर जाँदा प्रहरीलाई जानकारी दिनुपर्ने र पीडित किशोरीसँग सम्पर्क गर्न नपाइने लगायतका विषय उल्लेख थिए ।

– जिल्ला अदालतमा ०७९ माघ ९ गते पेशीमा चढेका बेला सरकारी वकिलको कार्यालयबाट स्थगन । माघ २३ मा फेरि पेशीमा चढ्यो र फेरि पनि सरकारी वकिलको कार्यालयबाट स्थगन गरियो । फागुन ८ मा पनि पेशीमा चढ्यो, फेरि पनि स्थगन गरियो ।

– ०७९ फागुन १२ गते सन्दीप विदेश जान पाउनुपर्ने मागसहित रिट लिएर सर्वोच्च अदालत पुगे । सँगै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागदाबी सहित निवेदन दियो ।

–  ०७९ फागुन १५ गते सर्वोच्च अदालतले सन्दीपलाई थुनामा बस्नु नपर्ने गरी उच्च अदालतकै आदेशलाई सदर गर्‍यो । तर, उनले क्रिकेट खेल्न विदेश जानका लागि भने सर्वोच्चले अनुमति दियो । सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले यो मुद्दालाई फास्ट ट्रयाकबाट टुंगो लगाउन आदेश दियो ।

– सर्वोच्चले फास्ट ट्रयाकमा टुंगो लगाउन भनेको १० महिनापछि शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले सन्दीपको मुद्दाको टुंगो लगाएको हो । यसवीचमा काठमाडौं जिल्ला अदालतमा लामो समयसम्म पेशी तोक्ने र स्थगन गर्ने सिलसिला नै चल्यो ।

– ०७९ फागुन २९ मा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा पेशी तोकिएको थियो तर लामिछानेका वकिलले स्थगन गराएका थिए । त्यसपछि चैत १३ मा माधवप्रसाद घिमिरेको बेञ्चमा पेशीमा चढ्यो र लामिछानेकै तर्फबाट स्थगन भयो । चैत २२ मा न्यायाधीश केशव घिमिरेको बेञ्चमा पुगेको थियो हेर्न नभ्याइने सूचीमा प¥यो । चैत २६ मा न्यायाधीश शंकरराज बरालको इजलासमा पुग्यो, उनले साक्षी बुझ्ने आदेश दिए ।

– ०८० बैशाख ६ गते न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले साक्षीको वयान र बकपत्र गरायो ।

– ०८० बैशाख ११ मा न्यायाधीश दीपक ढकालको बेञ्चमा पेशी तोकिएको थियो, हेर्न नभ्याइने सूचीमा पर्‍यो ।

– ०८० जेठ ७ मा न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले प्रमाण बुझ्यो । जेठ १६ मा न्यायाधीश शंकरबहादुर राईले प्रमाण बुझ्ने आदेश अनुसारको काम सम्पन्न गर्न भने । ०८० साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले पनि प्रमाण बुझ्ने आदेश दिए ।

– ०८० भदौ १० मा न्यायाधीश प्रकाश पण्डितको इजलासमा परे पनि हेर्न नभ्याइने सूचीमा चढ्यो । अर्को पेशी ०८० भदौ २६ गतेका लागि तोकियो ।