तस्बिर- रोयटर्स

अन्तर्राष्ट्रिय

बेल्जियन प्रधानमन्त्री डे क्रुले चीनलाई दिए ‘शत्रु’ मुलुकको संज्ञा

By खबरहब

December 29, 2023

ब्रसेल्स- बेल्जियमका प्रधानमन्त्री अलेक्जाण्ड्र डे क्रुले चीनलाई ‘शत्रु’ मुलुकको संज्ञा दिएका छन् । बेल्जियमको कट्टर दक्षिणपन्थी भ्लामास बेलाङ पार्टीका केही सदस्यहरुलाई जासुसका रुपमा भर्ना गरेको आरोप सार्वजनिक भएपछि प्रधानमन्त्री डे क्रुले चीनलाई ‘शत्रु’ को संज्ञा दिएका हुन् ।

बेल्जियमका दुई अखबारहरु लेसोइर र डे स्टेन्डार्ड अखबारसँगको कुराकानीमा उनले भने, ‘हामीले विदेशी शक्तिहरु हाम्रो लोकतन्त्रलाई कतिसम्म घृणा गर्छन् भन्ने बिर्सिनुहुन्न । रुसजस्तो चीनले हाम्रो महादेशमा आक्रमण गरेको छैन तर यो देश कहिलेकहीँ शत्रुजस्तो हुन खोज्छ ।’

उनले बेल्जियन लोकतन्त्र बलियो रहेको भन्दै चीनले लोकतान्त्रिक व्यवस्थामा आफ्नो प्रभाव बढाउन खोजिरहेको उल्लेख गरे ।

हालै फाइनान्सियल टाइम्स, ला मोन्द, डेर स्पेइगलजस्ता समाचारपत्रले बेल्जियममा फ्लेमिस पृथकतावादको वकालत गर्ने कट्टर दक्षिणपन्थी भ्लामास बेलाङ पार्टीका फ्राङ क्रेइलमानले तीन वर्षदेखि चिनियाँ जासुससँग काम गरिरहेको खुलासा गरेका थिए । यस खुलासासँगै उनलाई पार्टीबाट बर्खास्त गरिएको थियो ।