काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसीयालीमा केक काटेर उत्सव मनाएको छ।
क्यानका पदाधिकारी तथा कर्मचारीहरूलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुसीयाली साटासाट गरेका हुन्।
क्यानको मुख्यालयसमेत रहेको मूलपानीको माथिल्लो मैदानले आज ओमान र युएईबीचको एक दिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो।
यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो। सन २०२० मा त्रिवि खेल मैदानले ओडिआई मान्यता पाएको तीन वर्ष पछि मूलपानी मैदानले पनि आजबाट सो मान्यता प्राप्त गरेको हो।
शनिबारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई वटा क्रिकेट मैदान भएका छन्।