अपराध

एकल महिलाको हत्या आरोपमा तीन जना पक्राउ

By खबरहब

April 30, 2023

झापा – झापाको शिवसताक्षीमा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका–६ स्थित डाँडागाँउ निवासी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६२ वर्षीय रतिलाल राजवंशी, उनकी २० वर्षीया छोरी फूलमाया र १८ वर्षीय छोरा रामकृष्ण राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

वैशाख १२ गते मंगलबार राति करिब ९ बजेको समयमा एकल महिला शान्तिमायाको हत्या गरिएको थियो । प्रहरीले उनको शव वैशाख १४ गते बेलुका घर नजिक फिलुंगेको नलले छोपिएको अवस्थामा फेला पारेका थिए ।

घरमा एकलै बस्दै आएकी उनी र रतिलालबीच प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी रिजालले बताए । घटना भएको दिन रतिलाल दूध लिन महिलाको घर गएको र उनी दूध बेच्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको थप विवरण प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने जनाएको छ ।