यतिबेला केही राजनीतिक दल जनताका समस्याका निमित्त राजनीति गर्ने पहल गरिरहेको देख्न सकिन्छ। सडकमा होस् वा संसद् जनताका समस्यालाई उठान गर्न खोजे झैँ देखिन्छ। तथापि ठ्याक्कै समस्याको चुरो कुरो र सम्बोधन गर्ने उपायका विकल्प भने ठम्याउन नसकेको हो कि जस्तो लाग्दछ। हिजो आफूले समाजमा गरेका योगदानलाई राजनीतिबाट फेरि एकखालको योगदान दिन सकिन्छ कि भनेर नयाँ राजनीतिक दलमा आवद्ध हुनेक्रम बढेको छ। यसरी नयाँ दलले केही गर्ने छ कि भन्ने अपेक्षा आम जनतामा यथावत् रहेको अवस्था छ। उनीहरूको अबको राजनीतिको गन्तव्य के हो ? यसै विषयमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पूर्व डिआईजी रमेश खरेलसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :
राजनीति प्रतिको आकर्षण के रहेछ ? हामीलाई देश कस्तो हालतमा छ भन्ने थाहा छ। यो नकारात्मक स्थितिमा गएको छ। यस्तो अवस्थामा हामी चुप लागेर बस्नु हुँदैन। राजनीति भनेको मुहान रहेछ। यो नसुध्रिएसम्म कुनै पनि कुरामा सुधार हुने रहेनछ। जनता पुराना दलबाट निराशा छन्। हामीले देशका समस्या बुझेका छौँ। भोगेका छौँ। अब यसलाई सुधार गर्नुको विकल्प छैन। हामीले नै यसलाई नसुधार नगले कसले गर्छ भनेर म राजनीतिमा होमिएको छु। वास्तवमै भन्दा म समाज सेवा गर्न राजनीतिमा सक्रिय भएँ।
म देशको अवस्था बुझेको र लामो समय सेवा गरेको मान्छे हुँ। देशमा चोरतन्त्रले नियम बनाएको छ। सबै माफियातन्त्र छ। सबै काममा आफ्ना मान्छे छिराएर कसरी देश सिद्धाउन सकिन्छ, कसरी सात पुस्तालाई पुग्ने गरी पैसा कमाउने भनेर लागेका छन्। यो सबै म आफै बुझेर भोगेर आएको मान्छे हुँ।
तपाईंले के के बुझेर राजनीतिमा आउनुभयो ? मैले देशमा भ्रष्टाचार कुशासन लगायतका कुरा धेरै देखेँ। अब यस्तो गर्ने व्यक्तिलाई विस्थापित गराउन सक्रिय हुनुपर्छ। जस्तो : एउटा जिल्लामा काम गर्ने सबै क्षेत्रका मान्छेहरू हुन्छन्। त्यहाँका कामकाजमा एउटा माफिया तास खेल्न बस्छ। त्यहाँ तस्कर, व्यापारी, प्रहरी सबै हुन्छन्। त्यसमा एउटा सोझो आफ्नो मेहनतले काम गरिरहेको मान्छेको घरको बालकको अपहरण हुन्छ। त्यो खबर त्यहाँ आउँछ। बालक खोजेको जस्तो गरिन्छ। एउटा फिरौती रकम तोकिन्छ। परिवारलाई यति मागेको छ भनिन्छ। सबै मिलेर पैसा खाइन्छ। देशको मूल प्रवृत्ति यही हो। अहिले चर्चामा रहेको बालुवाटारको कुरा पनि त्यस्तै हो। भित्र एउटा हुन्छ र बाहिर अर्को आउँछ। यो देश यस्तो छ। बालुवाटारमा बस्ने नेता होइनन् शीर्ष लुटेरा हुन्।
आफू प्रहरीमा हुँदा केही गर्न नसकेको कारण राजनीतिमा आउनु भएको हो? प्रहरीमा हुँदा गर्वका सााथ काम गरेको छु। मैले अनुसन्धानबाट ठुलो माछासम्म पुग्ने अवस्था बनाएको थिएँ। अनुसन्धानका लागि मैले कहिल्यै सम्झौता गरिन। म जहाँ जान्थे त्यहाँका अपराधी डराएर हिँड्थे। सबै क्षेत्रका पुलिस अफिसर प्रोफेसनल छन्। यत्ति हुँदाहुँदै उनीहरु पिल्सिएका छन्। डर र त्रासमा बस्नु परेको छ। जस्तो अहिलेको भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणलाई पक्राउ गर्नु सामान्य कुरा होइन। नेपाली जनताले रास्वपाका असल मान्छेलाई पत्याउनु भयो भने २०८४ मा हामी सरकारमा आयौँ भने त्यो प्रहरी अधिकृतलाई हामी उत्साहित बनाउँछौं। तिमी स्वतन्त्र छौँ। कानुन अनुसार अगाडि बढ भन्छौं। कुनै समस्या भए तिम्रो साथमा हामी छौं भनेर भरोसा दिन्छौं।
तपाई पहिला ब्रिफकेसको बारमा बोल्दा स्पष्टीकरण पनि भोग्नु भयो हैन ? भ्रष्टाचारका कुरामा मैले बोलेको थिएँ। त्यसमा मलाई छानबिन गरियो सत्य बोल्दा कसैले केही गर्दैन।
सुरुमै तपाईंको दलमाथि भ्रष्टाचारका कुरा आएका छन्। यसमा तपाईंको प्रतिक्रिया के छ ? सांसद ढाकाकुमार श्रेष्ठ हुनुहुन्थ्यो। उहाँलाई ७२ घण्टामा नै पार्टीबाट हटाइयो। तर नेपालमा आफ्ना मान्छे जोगाउने प्रवृत्ति छ। यो प्रवृत्ति सबैमा छ। कानुन पालनाका लागि आफ्नो मान्छेलाई संरक्षण गर्ने शैलीको अन्त्य हुनुपर्छ। मसँग प्रहरीमा काम गर्दाका धेरै अनुभव छन्। म सिराहाको एसपी थिएँ। पोखरामा व्यापक गुण्डागर्दी लागूऔषधको ओसारपसार भइरहेको थियो। राजनीतिमा लागेका मान्छेले तिनीहरूलाई साथ दिएका हुन्छन्। म सिराहामा हुँदा उनीहरूले प्रोटेक्सन गरेका मान्छेहरूलाई क्षति हुन थालेपछि रातारात मलाई सरुवा गराइयो। मलाई पोखरा जान आग्रह गरियो। त्यहाँ पनि राजनीतिज्ञले अपराधीलाई जोगाएका थिए। त्यहाँ हामीले काम सुरु गरेपछि त्यहाँको ठूलो एलजी भन्ने समूह थियो। त्यो नेपाली कांग्रेस नेतृ सुजता कोइरालााबाट संरक्षित थियो। मैले कारबाही सुरु गरेपछि उनीहरूको भागाभाग भयो। नेपालमा अपराधी खोज्न कतै जानु पर्दैन ठुलाठुला शीर्ष लुटेराको घरमा अनुसन्धान गरे पुग्छ। अनुसन्धानकै क्रममा मलाई फोन आयो। त्यो फोन उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको थियो। उहाँले तपाईंले मेरो भाइलाई दुःख दिनुभएछ भन्नुभयो। मैले अपराधीलाई पक्राउ गरेको हो भने। त्यसपछि आईजीपी साहेबको फोन आयो। यस्तो वातावरण छ नेपालमा। अपराधीसँग नेताको सम्बन्ध हुँदा प्रहरीलाई काम गर्न दबाब दिने चलन देखिन्छ। नेताले जो मान्छे आफूले भनेको मान्छ वा कानुन भन्दा व्यक्तिको आदेशलाई स्वीकार गर्छ उसलाई मात्र रुचाउने चलन छ। यसले कानुनी राज्यको स्थापना हुन सक्दैन।
आफू नेतृत्वमा पुगेपछि सबै समस्या समाधान हुन्छ त ? मैले लामो समय भ्रष्टाचारविरुद्धमा काम गरेको छु। नेपाली जनताको आशा भनेको यो देशलाई कुशासनबाट मुक्त गराउने पार्टी रास्वपा भन्ने नै छ। हामी आफूले गलत गरे पनि आफ्नै पार्टीकाले पनि यो गलत हो भन्ने छौँ। आफ्ना र नातावादमा लाग्दैनौँ। सत्यलाई सत्य र असत्यलाई असत्य हो भन्ने खुबी हुनुपर्यो। अन्धभक्त हुनु हुँदैन भनेर अगाडि बढेका छौँ।
अब २०८४ को निर्वाचनको तयारी हो ? अब हामी आम जनतालाई संगठित गर्छौं। हाम्रो ध्यान संगठन विस्तारमा केन्द्रित हुन्छ। ठगहरू हेरेर अनुसन्धान गरेर कारबाही गर्छौं। हामीलाई क्वालिटीको मान्छे चाहिएको छ। फेस भ्यालु भएका समाजमा नाम कमाएका व्यक्ति खोजिरहेका छौँ। काम गरेर सेलिब्रेटी हुने हो र त्यो कारणले हाम्रो पार्टीलाई सेलिब्रेटीको पार्टी भनिन्छ। इमान्दार, नैतिक र निष्ठावान् व्यक्ति हुनुपर्छ। हामी सुधार्न आएका हौँ। यो कुनै व्यक्तिगत स्वार्थका लागि आएको पार्टी होइन।
पद्धति नै खराब भएपछि व्यक्तिले सुधार गर्न नसक्ने रहेछ ? अहिले मलाई अख्तियारको मान्छे छान्न दिने हो भने त्यस्तो मान्छे छान्ने छु जसले अरू कसैको कुरा सुन्दैन काम गरेरै देखाउँछ। हाम्रोमा सही मान्छे सही ठाउँमा छैनन्।
रास्वपाको अभियान २०८४ मात्र हो कि अहिले केही भएका छन् ? अहिले पनि ठाउँ ठाउँमा भएका बदमासीमा नजर राख्दै त्यहाँको सम्बन्धित क्षेत्रमा पुर्याउँछौं। यो विषयमा नागरिक जानकार छन्। जो मान्छे भ्रष्टाचार गर्छ त्यसलाई पनि शान्तिपूर्वक यस्तो नगर्नुहोस् भनेर सचेत गराउँछौँ।