सांकेतिक तस्बिर

देश/प्रदेश

कोहलपुरमा वन्यजन्तुको अवशेषसहित ३ जना पक्राउ

By खबरहब

June 30, 2023

नेपालगञ्ज- बाँकेको कोहलपुरमा वन्यजन्तुको अवशेषसहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका ११ स्थित हाम्रो बजारबाट ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दैलेख ठाटिकाँध गाउँपालिका ४ बस्ने ३० वर्षीय सुनिल चुनारा, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने ४० वर्षीय नवीन कुमार कसेरा र अछाम पन्चदेवल नगरपालिका २ बस्ने ३६ वर्षीय टोपेन्द्र शाही रहेका छन् ।

सो ठाउँस्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा वन्यजन्तुको हड्डी र पाटेबाघको छाला ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान प्रहरी ब्यूरो र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला र हड्डीसहित फेला पारी पक्राउ गरेको हो ।