राजनीति

आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्कालाई १५ महिना कैद सजाय

By खबरहब

June 30, 2023

काठमाडौं– नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजायको फैसला सुनाएको हो ।

न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको संयुक्त इजलासले शुक्रबार खड्कालाई ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोक्दै १ वर्ष तीन महिना कैद सजाय सुनाएको हो ।

साथै इजलासले उनको नाममा भएको सबै सम्पत्ति र श्रीमतीको नाममा भएका दुईवटा जग्गा पनि जफत गर्न आदेश दिएको छ ।

१३ पुस २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध विशेष अदालतमा गैरकानूनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।