फाइल फोटो

देश/प्रदेश

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्ष कारागार चलान

By खबरहब

June 30, 2023

खलंगा- जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्षलाई कारागार चलान गरिएको छ । जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका थियो । अदालतको आदेशअनुसार बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महिलालाई जबरजस्ती करणी गरेको कुरा बाहिर आएपछि वडाध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो ।

प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिन सम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथि अभियोग लगाई अदालत पेश गरेपछि जिल्ला अदालत दार्चुलाले अध्यक्ष धामीलाई तत्काल पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।