मन्दिर होस् या घरमा पूजा गर्दा घण्टी बजाउने निकै पुरानो चलन हो । हिन्दु धर्मअनुसार पूजा गर्दा घण्टी बजाउँदा देवताहरू आफ्नो ध्यानबाट ब्युँझिन्छन् र भक्तको प्रार्थना स्वीकार छन् भन्ने मान्यता रहेको छ ।
धार्मिक मान्यता अनुसार पूजामा बजाइने घण्टीको आवाज देवताहरूलाई धेरै मन पर्ने भएकाले देवीदेवताका मूर्तिहरूमा चेतना जागृत हुन्छ र पूजकको प्रार्थना ध्यानपूर्वक सुन्छन् । जसका कारण पूजाको प्रभाव बढ्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्ने विश्वास लिइन्छ ।
स्कन्द पुराणका अनुसार घण्टीबाट निस्कने आवाज ‘‘ॐ’’ शब्दसँग मिल्दोजुल्दो हुने भएकाले मन्दिरमा घण्टी बजाउँदा ‘‘ॐ’’ जप गरे जस्तै पुण्य प्राप्त हुने जनविश्वास पनि रहेको छ ।
हिन्दु धर्ममा घण्टीलाई अति नै शुभ मानिन्छ। प्रत्येक दिन बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुने मान्यता छ । पूजा गरिसके पछि आरतीको समयमा घण्टी बजाउनाले भाग्य बलियो हुन्छ।
घण्टी बजाउनुको वैज्ञानिक फाइदा पनि छ । जसमा, घण्टीको आवाजले वायुमण्डलमा कडा कम्पन पैदा गर्ने भएकाले वातावरणमा रहेका हानिकारक ब्याक्टेरिया, भाइरस र सूक्ष्म जीवहरू नष्ट भई वातावरण शुद्ध हुन्छ भन्ने मान्यता छ ।