झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको उदघाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली

हिँड्दैछ एमाले सिरुपाते डाँडा काटेर…

By ज्ञानु घिमिरे

November 30, 2023

काठमाडौं- दलहरू आगामी चुनावलाई लक्षित गरेर मिसन ०८४ अभियानको माहोल बनाउँदैछन् । हुन त निर्वाचन आउन अझै तीन वर्ष बाँकी छ । दलहरुलाई जनताका तात्कालिक समस्या भन्दा पनि आगामी चुनावको चिन्ता लाग्न थालेको छ ।

गत २०७९ सालमा सम्पन्न निर्वाचन लगत्तै ‘मिसन ग्रास रुट’ अभियानमा लागेको नेकपा एमालेले अहिले अर्को अभियान सुरु गरेको छ । हुन त एमालेलाई ‘मिसन ग्रास रुट अभियानले कुनै उपलब्धि नै दिएन भन्ने तथ्य गत बैशाखको उपनिर्वाचनले देखाइसकेको छ ।

एमालेले मंसिर १४ गते बिहान साढे ८ बजेदेखि सुदूरपश्चिमको झुलाघाट, बैतडीदेखि पुस १ गते पूर्वी नेपालको चिवाभञ्ज्याङ यात्रा गर्ने कार्यक्रम तय गरेको छ । यो यात्रामा एमालेका नेताहरू तथा एमालेसँग आस्था राख्ने शुभचिन्तकहरु सहभागी हुने एमाले सचेतक महेश बर्तौला बताउँछन् ।

सङ्कल्प यात्राको रुट

पहिलो दिन अध्यक्ष ओलीले बिहान साढे ८ः ३० बजे झण्डोत्तोलन गरिसकेपछि ११ बजे गोठलापानी बजारमा कार्यक्रमलाई सम्बोधन गरेका छन् । आजको यात्रा अमरगढी पुगेर समापन हुनेछ ।

दोस्रो दिन अमरगढीबाट यात्रा सुरु भएर सिलगढी पुगेर समापन हुनेछ ।  तेस्रो दिन सिलगढीबाट सुरु हुने यात्रा मङ्गलसेन पुगेर समापन हुनेछ ।

चौथो दिन मङ्गलसेनबाट यात्रा सुरु भइ दैलेखमा समापन हुनेछ । पाचौँ दिनको यात्रा दैलेखबाट सुरु भएर सुर्खेतमा समापन हुनेछ ।

छैठौँ दिन रुकुमकोट पुगेर यात्रा समापन हुनेछ । सातौँ दिनको यात्रा गलकोटमा पुगेर समापन हुनेछ । आठौँ दिनको यात्रा पोखरा पुग्नेछ ।

नवौँ दिन गोरखामा कार्यक्रम हुनेछ । दशौँ दिन बट्टार, एघारौँ दिन धुलिखेल, १२ औँ दिन मन्थली र १३ औँ दिनको यात्रामा दिक्तेल पुग्नेछ ।

१४ औँ दिन भोजपुर, १५ औँ दिन तेह्रथुमको वसन्तपुर, १६ औँ दिन सङ्क्रान्ति बजार र १७ औँ दिनको यात्रामा पाँचथरको फिदिम पुग्नेछ । १८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुस २ गते नेताहरु काठमाडौं फर्किने कार्यक्रम छ ।

यस्तो छ सङ्कल्प यात्राको रुट

तयारी चुनावको, नारा समृद्धिको

एमालेले यो यात्रालाई ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको छ । बर्तौलाका अनुसार पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको अवसरमा पुष्पलाल मध्यपहाडी लोकमार्गको महाकाली–मेची यात्रा तय भएको हो । एमालेले पहाड र तराईको भौगोलिक सम्बन्ध, बसाइँ सराइ, तथा त्यहाँका समस्या पहिल्याउनका लागि यो यात्राको आयोजना गरेको उनको भनाइ छ ।

यो रुटमा मध्य पहाडका २६ वटा जिल्ला जोडिएका छन् । २ सय १५ भन्दा बडी बस्तीहरू रहेको यस क्षेत्रमा १० वटा ठूला सहरहरूको विकास भइसकेको छ । यहाँ बस्ने करिब १ करोड भन्दा बढी जनतासँग एमालेले त्यहाँका जैविक विविधता र प्राकृतिक स्रोत साधनलाई मुलुकको समृद्धिका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने हिसाबले पनि हेरेको बर्तौलाले खबरहबलाई बताए ।

उनले भने, ‘प्रतिपक्षले विभिन्न ढंगले हाम्रो यात्राको बारेमा आलोचना गरेको सुन्दा हाँस उठिरहेको छ । ‘हामीले यो यात्रालाई बसाइँ सराइ, सहरकेद्रित बसोबास र वैदेशिक क्षेत्रमा बढ्दो आकर्षणलाई न्यूनीकरण गर्ने उद्देश्यका रूपमा लिएका छौँ’ उनी भन्छन्, ‘मध्यपहाड क्षेत्रमा यात्रा गरिरहँदा के–के समस्या छन् र त्यसको कसरी समाधान गर्न सक्छौँ भनेर पहिचानसमेत गर्ने छौँ ।’

एमालेले पहाडका समस्या सुन्न कार्यक्रम तय गरिएको भने पनि यसका पछाडि आगामी चुनावमा पार्टीलाई बलियो बनाउने लक्ष लुकेको देखिन्छ । तर, यो तर्कको खण्डन गर्दै बर्तौला भन्छन्, ‘यो मिसन ग्रसरुट पछि गर्ने २०८४ को निर्वाचनमा मत बटुल्न गरिएको अभियान होइन । एमालेको शक्तिलाई आँखा लगाउन विपक्षीले बनाएका लफडा मात्र हुन् ।’

अध्यक्ष केपी शर्मा ओलीले यात्राबारे फेसबुकमा यस्तो स्टाटस लेखेका छन्– ‘ एक आपसमा बुझेरै सम्बन्धहरु विस्तार हुने हुन् । राजधानी र गाउँको दूरी घटाउन, सम्बन्धहरु बढाउन । नागरिक किन पलायन भइरहेका छन् ? समाजमा किन निराशा छ ? समस्याका कारणहरु के हुन् ? समस्याहरुको समाधान निकाल्ने एउटा सामुहिक प्रयास । यात्रा ! राष्ट्रिय सन्देश निर्माणका लागि । हामी हिँड्दैछौं– पश्चिमदेखि पूर्वसम्मै ।’

 

 गत २०८० वैशाख १० मा बारा, चितवन र तनहुँमा भएको उपनिर्वाचनमा एमालेको लज्जास्पद मत आयो । यसले गर्दा एमाले नेताहरु आत्तिएको र नयाँ–नयाँ कार्यक्रमहरू चलाएको भन्ने आरोपहरू लगाउनेहरुको कमी छैन ।

तत्कालीन नेकपा फुटेपछि पूर्वएमालेमा रहेका माधव नेपाल र झलनाथ खनालले नयाँ पार्टी गठन गरे । यता सुदूरपश्चिमका एमालेका पुराना नेता भीम रावलले निर्वाचनमा आफ्नै पार्टी एमालेलाई सघाएनन् । बरु तटस्थ नै बसे । यसले गर्दा सुदूरपश्चिममा एमालेले राम्रो स्थान बनाउन सकेन ।

यो पटकको अभियानमा पनि रावललाई कुनै जानकारी गराइएको छैन । यसबारे खबरहबसँग रावलले भने, ‘मैले सञ्चार माध्यबाट मात्र सुनेको हुँ, मलाई संस्थागत र संगठनात्मक रुपमा यसको कुनै जानकारी छैन ।’

उनले यो यात्रालाई कसरी हेर्नु भएको छ भन्ने प्रश्नमा रावलले भने, ‘म परिणाममा विश्वास गर्ने मान्छे परें । पुष्पलाल मध्यपहाडी यात्रामा कयौं पुल तथा सडकहरु बिग्रिएका छन् । यसलाई उहाँहरुले कसरी हेर्नुहुन्छ हेरौंला ।’

ज्यानले भ्याएसम्म ओली पनि सहभागी हुने

मंसिर १४ गते बिहान साढे ८ बजेदेखि हुने यात्राको शुभारम्भ बैतडीको झुलाघाट पुलबाट अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झन्डा झण्डोत्तोल गरेर सुरु भएको छ । १९ दिन चल्ने यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुस १ गते पुगेपछि समाप्त हुने  । एमाले नेताहरु २ गते काठमाडौँ फर्कने छन् । पुस ५ गते काठमाडौँमा औपचारिक समापन कार्यक्रम हुने पार्टीका सचिव योगेश भट्टराईले खबरहबलाई बताए । उनका अनुसार स्वास्थ्यले साथ दिएसम्म अध्यक्ष ओली पनि यो १९ दिनको यात्राभर सँगै रहने उनले बताए ।

संकल्प यात्रा भएकाले पार्टीका स्थानीय कार्यकर्ताहरु ठाउँ ठाउँमा जोडिने उनले बताए । यात्राका क्रममा विभिन्न ठाउँमा जनसभा तथा आमसभा समेत हुने भट्टराईले बताए ।

सचेतक बर्तौलाका अनुसार विभिन्न ठाउँमा कोण सभा गरेर किसान, विद्यार्थी, युवा तथा विभिन्न पेसा व्यवसायमा रहेका मानिसहरूसँग अन्तरक्रिया हुने छ ।

बर्तौलाले खबरहबसँग भने, ‘एमालेले मुलुकको विकास, सामाजिक सुशासन र न्यायको ब्यानर बोकेर सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय एजेन्डा बोकेर हिँडेको छ । देशमा बढेको तस्करी र बेथितिका बारेमा सदन र सडकबाट एमालेले खबरदारी गरिरहेको छ । हामीले यो यात्रालाई पनि शक्ति र समृद्धिको यात्राका रूपमा लिएका छौँ । यो एक प्रकारको खबरदारी हो ।’

एमाले सचिव योगेश भट्टराई पनि नागरिकसँग भेटघाट गर्ने   स्थानीय समस्याबारे छलफल गरेर सदनबाट एमालेले अझ मजबुद आवाज उठाउने बताउँछन् ।  उनी भन्छन्, ‘यो चुवान लक्षित अभियान होइन, पार्टीले पटक–पटक जनतासँग भेटघाट तथा कुराकानी गरेर वास्तिविकता बुझ्ने तयारी छ ।’

नेताहरुले चुनाव लक्षित कार्यक्रम होइन भने पनि एमालेको यो यात्रालाई मिसन २०८४ को रूपमा समेत भित्री रूपमा लिइएको छ । यसलाई एउटा जनपरिचालन अभियानका रूपमा हेरिएको छ ।

पिछडिएको क्षेत्र सुदूरपश्चिमबाट कार्यक्रम उदघाटन गर्ने र एकै दिनमा दुई–तीन वटा आमसभा हुने भएकाले एमालेले सम्पूर्ण तयारी गरेको जनाएको छ ।

यात्रामा नेता कार्यकर्ताका साथमा स्वास्थ्यकर्मीको टोली, स्वयंसेवक, कलाकारहरु र विज्ञको टोलीसमेत रहने छ । यसमा आवश्यकता अनुसार टोली समेत परिचालन हुने सचिव भट्टराईले बताए ।

यसैबीच फागुनमा एमालेले काठमाडौंमा जनसभा गर्ने तयारीसमेत गरेको छ । एक नेताका अनुसार सभाको मिति तय नभए पनि एमालेले फागुनको पहिलो हप्ताका लागि तयारी भइरहेको छ ।