देश/प्रदेश

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

November 30, 2023

दिनभर आज एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु, नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने, प्रधानमन्त्री पुगे अबुधाबीस्थित नेपाली राजदूतावास, सेवा प्रवाह चुस्त बनाउन निर्देशन, स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन, आजदेखि चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भलगायतका समाचारले प्रमुख स्थान पाए ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा बैतडीबाट सुरु

नेकपा (एमाले)को ‘‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज सुरु भएको छ । पार्टी अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गरेका हुन् ।

सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथिको सुनुवाइ पूरा भएको छ ।

न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेको इजलासले बिहीबार सुनुवाइ पूरा गरेको हो । यससँगै अदालतले शुक्रबार आदेश सुनाउने भएको छ ।

प्रधानमन्त्री पुगे अबुधाबीस्थित नेपाली राजदूतावास, सेवा प्रवाह चुस्त बनाउन निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूएईको अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।

कोप–२८ मा सहभागी हुन यूएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन् ।

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढदा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने बताए ।

निर्वाचन आयोगका पदाधिकारीले भूकम्पपीडितलाई सहयोग गर्ने

जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई निर्वाचन आयोगका पदाधिकारीले ७ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आयोगको बुधबार बसेको बैठकले आयोगका प्रमुख आयुक्त र आयुक्तले सात दिन बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको हो ।

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका छन् । दलित महिला केन्द्र नेपालले आज आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’ मा उनले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिए ।

“निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनु हुँदैन, जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो”, प्रमुख आयुक्त थपलियाले भने । जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रका लगायतका विषयमा गहनतापूर्वक विश्लेषण र छलफल गर्न आवश्यक रहेको पनि उनको भनाइ छ ।

आमसञ्चारसम्बन्धी विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने सरकारको निर्णय

सरकारले आमसञ्चारसम्बन्धी विभिन्न विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सञ्चार मन्त्रालयको प्रस्तावमा राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन् ।

राष्ट्रपतिद्वारा मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी तोकेका छन् ।

राष्ट्रपतिको कार्यालय, शीतल निवासका अनुसार मोजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको हो ।

नेकपा एसका बैतडी इन्चार्ज र जिल्ला अध्यक्ष एमालेमा फर्किए, टीका लगाएर ओलीले गरे स्वागत

नेकपा एकीकृत समाजवादीका बैतडी इन्चार्ज र जिल्ला अध्यक्षलगायत नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।

एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन् ।

आजदेखि चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ

चार उच्च अदालतमा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौँडाका उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको हो ।

सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त चार उच्च अदालतमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गरेका हुन् । उनले प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र आम जनतामा न्यायमा पहुँच पुग्ने उद्देश्यले सेवा प्रारम्भ गरिएको जानकारी दिए ।