समाचार

नेत्र ज्योति सङ्घलाई दुई करोडको जग्गा निःशुल्क

By खबरहब

December 30, 2023

म्याग्दी-  म्याग्दीका एक दम्पतीले नेपाल नेत्र ज्योति संघ, बेनीलाई दुई करोड ५० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।

पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको संघलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन् ।

रोका दम्पतीले संघलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेका हुन् । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपुर्जा हस्तान्तरण गरे ।

हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको संघलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ । संघको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन् ।

यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका थिए ।