काठमाडौँ– सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने सिफारिस गरेको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले यस्तो सिफारिस गरेको बैठकका उपस्थित एक अधिकारीले बताए ।
शुक्रबार भएको प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । बैठकले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन गर्ने समेत तयारी गरेको छ ।
यसका लागि शनिबार दिउँसो साढे २ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । बैठकमा दोषीहरूमाथि निलम्बनको कारवाहीले औपचारिकता पाउने र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्णय गरिने स्रोतले बताएको छ ।
कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको र त्यसैको आक्रोशका रूपमा युवाहरूले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले इपीएस शाखाका हाकिमलाई निलम्बन गर्न लागेको हो ।
ईपीएस शाखाका महानिर्देशक डण्डुराज घिमिरे छन् भने निर्देशक गुरुदत्त सुवेदी रहेका छन् ।
यो पनि हेनुहोस्…..
ईपीएसका हाकिम, प्रहरीका डीएसपी र मन्त्रीका अंगरक्षकलाई निलम्बन गर्न निर्देशन