ब्रेकिङ स्टोरी

मन्त्रीको गाडीमा आगजनी : सुरक्षाविद् भन्छन्- अंगरक्षकले मेसो नपाउनु आश्चर्यजनक

By खबरहब

December 30, 2023

काठमाडौं- शुक्रबार ललितपुरमा नेकपा एकीकृत समाजवादीको बैठक थियो । सो बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा चढेर जाँदै थिए ।

गाडी ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि पुग्दा त्यहाँ आन्दोलन भइरहेको थाहा भयो । ठूलो संख्यामा प्रदर्शनकारीहरू समूह– समूह बनाएर प्रदर्शन गरिरहेका थिए ।

बालकुमारी पुलबाट करिब १ सय मिटर अगाडि पुगेपछि प्रदर्शनकारीले गाडी अगाडि जान नदिने भएपछि गाडी रोकियो र मन्त्री ज्वालाको टिम गाडीबाट ओर्लिएर पार्टीको बैठकमा लागे । तर, गाडी सिंहदरबार पठाइयो । गाडी सिंहदरबार जाने क्रममा बालकुमारी पुलको फेदमा पुन प्रदर्शनकारीको गाडी रोके । त्यो बेला गाडीमा ड्राइभर र पीएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवार सवार थिए । उनीहरू बाहिर निस्किए । त्यसपछि मात्र प्रदर्शनकारीले गाडी जलाएको ज्वालाको सचिवालयले पुष्टि गरेको छ ।

गाडी फर्किँदा कुन रुटमा के भएको छ भन्ने कुरा कसैले ख्याल गरेनन् । कुन रुटमा के भएको छ भन्ने कुरा ज्वालाका अंगरक्षकलाई थाहा हुनुपर्ने नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन् । तर अंगरक्षकले त्यो रुटमा प्रदर्शन भएको थाहा नपाएको मन्त्री ज्वाला बताउँछन् । उनले भने, ‘आकस्मिक भएको प्रदर्शन भएकाले केही थाहा नै भएको थिएन । जानकारी थियो भने त हामी किन त्यो बाटो भएर जाने थियौँ र ?’

गाडी जलाएपछि आन्दोलनकारी थप आक्रामक देखिए । उनीहरूले थप आन्दोलन गर्न थाले त्यसपछि प्रहरीले अनियन्त्रित भीड नियन्त्रणमा लिन अश्रुग्यास र हवाइ फायर गरेको थियो । सो पछि प्रहरी दमनका कारण २ प्रदर्शनकारीको ज्यान गयो ।

यसबारे पूर्वडीआईजी मल्ल भन्छन्, ‘गाडी रोकेपछि तत्काल प्रहरीको हेड क्यार्टरमा फोन गर्नुपर्ने थियो । सिंहदरबार पठाउनुको साटो कतै सुरक्षित स्थानमा प्रहरीको सहयताले लगिएको भए हुने थियो ।’ उनले भीआईपी कतै हिन्ने बेलामा अंगरक्षले पनि कहाँ कुन रुटमा के भइरहेको भन्ने कुरालाई ध्यान दिन समेत आग्रह गरे ।

उनले यो केशमा सबैजना कहीँ न कहीँ चुकेको भन्दै भने, ‘पहिलेको अभ्यास चाहिँ भीआईपी नजिक र टाढा कतै जाँदा अंगरक्षकले प्रहरीको कार्यालयमा जानकारी गराउने गरेको थियो । तर अहिले त्यो छैन कि क्या हो ?’

उनले दुई जनाको ज्यान गएको घटना गम्भीर गल्ती भएको बताए ।

यता, ललितपुरको बालकुमारीमा शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखा निर्देशक गुरुदत्त सुबेदी, फिल्डमा खटिएका प्रहरीका डीएसपी उमेशराज लम्साल र मन्त्री प्रकाश ज्वालाका अंगरक्षक प्रहरीलाई निलम्बन गर्ने भएको छ ।

बालकुमारीमा प्रहरीको काण्डमा खटिएका डिएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गर्न लागिएको स्रोतको भनाइ छ । बैठकले प्रहरी नायब उपरीक्षक डिएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ दनुवारलाई निलम्बन गर्ने समेत तयारी गरेको छ ।

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने सिफारिस गर्ने भएको छ ।  यसको निर्णय पनि मन्त्रपरिषद् बैठकबाट हुनेछ ।

तीनजनालाई निलम्बनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले खबरहबलाई बतायो ।

अहिले मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ । बैठकमा दोषीहरूमाथि निलम्बनको कारवाहीले औपचारिकता पाउने र मृतकका परिवारलाई राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्णय गरिने स्रोतले बतायो । त्यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिने सरकारको तयारी छ ।

जारी मन्त्रिपरिषद बैठकले प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृह मन्त्रालयमा पठाउने पनि अनौपचारिक निर्णय लिने स्रोतले खबरहबलाई बतायो ।