फाइल तस्वीर

राजनीति

एसईईमा हुम्लाका १ हजार २३४ परीक्षार्थी सहभागी

By खबरहब

March 31, 2023

काठमाडौँ- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा हुम्लाका छ वटा परीक्षा केन्द्रमा एक हजार २३४ परीक्षार्थी सहभागी भएका छन् ।

जिल्लाबाहिर अध्ययन गर्दै आएका विद्यार्थीहरू कोरोना महामारीपछि जिल्ला फर्किएपछि यसपटक परीक्षार्थीको सङ्ख्या बढेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईले जानकारी दिए ।

हुम्लाको सिमकोट गाउँपालिकाका २ केन्द्र बालमन्दिर माविमा दुई सय ५६ जना र मानसरोवर माविमा एक सय ८० जना परीक्षार्थी सहभागी छन् । त्यस्तै सर्केगार्ड गाउँपालिकाका हिमज्योति मावि सर्केगार्डमा दुई सय ५३ जना र कोटमावि रोडिकोटमा एक सय ४८ जना, अदानचुली गाउँपालिकाको सूर्योदय मावि श्रीनगरमा एक सय ५७ जना र ताँजाकोट गाउँपालिकाको मदानादेव मावि पाँदामा दुई सय ४० जना परीक्षार्थी सहभागी छन् ।

हुम्लाबाट छ सय ६० जना छात्र र पाँच सय ७४ जना छात्राले एसईई परीक्षा दिँदैछन् । जसमा साधारणतर्फ एक हजार एक सय ४८ जना, प्राविधिक धारतर्फ ८० जना र ग्रेड वृद्धितर्फ छ जना परीक्षार्थी छन् । गत वर्ष हुम्लाबाट एक हजार १३६ जना परीक्षार्थीले एसईई दिएका थिए ।