फाइल तस्वीर

देश/प्रदेश

अपाङ्गता भएका बालबालिकालाई प्रविधियुक्त शिक्षण

By खबरहब

March 31, 2023

काभ्रेपलाञ्चोक– अपाङ्गता भएका बालबालिकाको अध्यापन प्रभावकारी बनाउनका लागि विद्यालयस्तरमा प्रविधियुक्त शिक्षण विधि अपनाइएको छ । शारीरिक, बौद्धिक, दृष्टि तथा हेराइ र सुनाइसम्बन्धी अपाङ्गता भएका बालबालिकाको प्रारम्भिक कक्षाको शिक्षण सुधारका लागि शैक्षिक विधिमा थप परिस्कृत गर्न प्रविधियुक्त शिक्षण विधि अपनाइएको जनाइएको छ ।

स्थानीय तह तथा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधिमूलक संस्थाले उपलब्ध पहुँचयुक्त शैक्षिक सामग्रीको उपयोग कार्यक्रम (लर्न)मार्फत अपाङ्गता भएका बालबालिका केन्द्रित समावेशी शिक्षालाई प्रवर्द्धनका लागि प्रविधियुक्त शिक्षणमा जोड दिइएको हो । सिकाइको समावेशी ढाँचामा आधारित शैक्षिक विधिको विकास र विस्तार गर्दै विद्यमान पहुँचयुक्त शैक्षिक स्रोतबाट समान उपलब्धि हासिल गर्न सघाउने विश्वासका साथ प्रविधियुक्त शिक्षण लागू गरिएको हो ।

कार्यक्रमअन्तर्गत हाल काभ्रेपलाञ्चोकको पाँच स्थानीय तहमा रहेका अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने विद्यालयका यस्तो सिकाइ विधि अपनाइएको हो ।

बनेपास्थित काभ्रे बहिरा माध्यमिक विद्यालयको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले प्रविधियुक्त शिक्षण विधिले शारीरिक र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई अध्ययनमा निकै सहजता प्रदान गरेको बताइन् । उनका अनुसार कार्यक्रमबाट प्राप्त टेलिभिजन, ट्याब, विभिन्न पाठ्यक्रमका एप तथा विविध शैक्षिक सामग्रीबाट अपाङ्गताअनुसार शिक्षण गरिँदै आइएको छ ।

‘कार्यक्रमले शिक्षकलाई तालिम दिएपछि शिक्षणमा थप सहजता भएको छ भने अपाङ्गता भएका विद्यार्थी रुचिपूर्वक अध्ययनमा ध्यान दिएका छन्,’ नकर्मीले भनिन् ।

प्रविधियुक्त शिक्षण विधिले बौद्धिक अपाङ्गता भएका बालबालिकाको बानी–व्यवहारमा केही मात्रामा परिवर्तन हुँदै गएको आदर्श बाल विकास केन्द्र (बौद्धिक अपाङ्गता विशेष स्कुल)को प्रधानाध्यापक मैया वैद्यले बताइन् ।

उनले भनिन्, ‘डिस्प्लेमार्फत अध्ययन प्रकृतिका, हाँस्य र खेलजन्य सामग्रीको प्रस्तुतिले उनीहरूको एकोहोरोपन केही कम हुँदै गएको पाएका छौँ ।’ उनका अनुसार विद्यालयमा प्रदान गरिएका सामग्रीले विद्यार्थीको आक्रामक शैलीलाई नियन्त्रण गर्न सहयोगी भएको छ । केन्द्रमा बौद्धिक अपाङ्गता भएका ३८ बालबालिका छन् ।

काभ्रेपलाञ्चोकका बनेपा, धुलिखेल, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरका अपाङ्गता बालबालिका भएका विद्यालयका कार्यक्रम लागू गरिएको हो । लक्षित विद्यालयका सम्पूर्ण बालबालिकाका र अपाङ्गता भएका शिक्षकमा समेत कार्यक्रमले समेटेको छ ।

बनेपा नगरपालिका शिक्षा शाखाले आफ्ना क्षेत्रमा कार्यक्रम सञ्चालित विद्यालयमा इन्टरनेट सुविधा तथा दुई विद्यालयमा विज्ञान प्रविधि ल्याब व्यवस्थापन गरेको छ । शाखा प्रमुख शिवराज त्रिपाठीले नगरभित्रका विद्यालयमा सञ्चालित उक्त कार्यक्रमलाई निरन्तरता दिई अन्य विद्यालयमा लागू गर्न प्रक्रिया थालिने बताए ।

त्रिपाठीका अनुसार कार्यक्रम सञ्चालनपश्चात अपाङ्गता भएका बालबालिकाको पढाइ क्षमतामा सुधारसँगै त्यस शिक्षणमा शिक्षकको क्षमता अभिवृद्धि हुँदै गएको छ । ‘शिक्षकको शिक्षण क्षमता सुधार हुनु भनेको आउने अपाङ्गता भएका बालबालिकाको शैक्षिक भविष्यलाई सफल बनाउनु हो,’ त्रिपाठीले भने । उनले कम आर्थिक व्यवस्थापनले समेत अपाङ्गता भएका बालबालिकाको शिक्षण सुधार गर्न सकिने भएकाले अन्य स्थानीय तहलाई अनुशरण गर्न आग्रह गरे ।

कार्यक्रम बागमती प्रदेशको चार जिल्लामा लागू गरिएको छ । जसअन्तर्गत काभ्रेपलाञ्चोकसहित काठमाडौँको सात नगरपालिका, ललितपुरको एक उपमहागरपालिका र एक नपा र धादिङको एक नपा र दुई गाउँपालिका छन् । कार्यक्रममार्फत पाँच सय ८१ अपाङ्गता भएका बालबालिका, छ हजार दुई सय ९५ प्रारम्भिक तहका बालबालिका, ४९ विद्यालय र ९६ शिक्षक लाभान्वित भएको कार्यक्रम संयोजक दुर्गा कार्कीले जानकारी दिए ।