सांकेतिक तस्बिर

अपराध

विभिन्‍न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

By खबरहब

March 31, 2023

काठमाडौँ- देशका विभिन्न स्थानबाट ६ जना लागूऔषधसहित पक्राउ परेका छन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम २८ मिलिग्रामसहित बर्दिया राजापुर नगरपालिका-१ झपही बस्ने २९ वर्षीय कृष्ण चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियाबाट काठमाडौँतर्फ आउँदै गरेको भे.१ ख ३६७५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई खैरो हेरोइनसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको बेलबारी नगरपालिका-१० प्रगति टोलबाट नियन्त्रित लागूऔषध स्पासपेन ३ सय ८६ ट्याब्लेट, ट्रमाडोल ३ सय ५० ट्याब्लेट र अवैध लागूऔषध गाँजा ६ सय ११ ग्रामसहित कानेपोखरी गाउँपालिका-५ बस्ने २८ वर्षीय आशिस राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले प्र १-०२-०४० प ९३८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक राईलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी चोकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्रामसहित सोही उपमहानगरपालिका-१९ बस्ने २२ वर्षीय सुशील थोकरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले गुम्बाचोकबाट हेटौँडा बजारतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ह १८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका-३१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-३ झुलिटार बस्ने ४२ वर्षीय पासाङ लामा र चितवन राप्ती नगरपालिका-११ बस्ने २९ वर्षीय बुद्धिराज घलान रहेका छन् ।

प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले जितपुरबाट बडनिहारतर्फ जाँदै गरेको प्र.-२-०३-००१ ह २२७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।