राजनीति

समस्याग्रस्त अर्थतन्त्रलाई सुधार गरेरै छाड्छु : नवनियुक्त अर्थमन्त्री महत

By खबरहब

March 31, 2023

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अवस्थामा रहेको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले मुलुकका देखिएको अर्थतन्त्र समस्याका लागि सम्पूर्ण राज्यसंयन्त्र लाग्ने र समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने बताएका हुन् ।

उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने धारणा राखे । वित्तीय क्षेत्रमा पनि विभिन्न समस्या रहेको भन्दै राष्ट्र बैंकसँग सहकार्य गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्ने उनको भनाइ छ ।

मन्त्री महतले मुलुकमा लगानी बढाउनका लागि अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गर्ने बताए । उनले करदातालाई राजस्वको बोझ थप गरेर नभई करको दायरा बढाएर अर्थतन्त्र सवल बनाउनुपर्नेमा जोड दिए ।