तस्वीर- हिन्दुस्तान टाइम्स

अन्तर्राष्ट्रिय

इण्डोनेसियाले भारतसँग क्षेप्यास्त्र खरिद गर्ने

By खबरहब

March 31, 2023

काठमाडौँ- इण्डोनेसियाले भारतसँग २ सय मिलियन डलर बराबरको क्षेप्यास्त्र खरिद गर्ने भएको छ । दक्षिण चीन सागरमा चीनको प्रभाव बढिरहेको अवस्थामा इण्डोनेसियाले भारतसँग क्षेप्यास्त्र खरिद गर्न लागेको हो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार इण्डोनेसियाले भारतसँग ब्रह्मोस क्रुज क्षेप्यास्त्र खरिद गर्ने तयारी गरिरहेको छ । भारतको रक्षा कम्पनी ब्रह्मोस एरोस्पेसले यही वर्षभित्र इण्डोनेसियालाई सुपरसोनिक क्रुज क्षेप्यास्त्र बिक्री गर्नेबारे औपचारिक घोषणा गर्ने बताइएको छ ।

इण्डोनेसियाले लामो समयदेखि भारतसँग ब्रह्मोस क्रुज मिसाइल खरिद गर्ने प्रयास गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यता ब्रह्मोस एयरोस्पेसका प्रमुख कार्यकारी अधिकारी अतुल डी. राणेले आफ्नो कम्पनीले दक्षिण पूर्व एसियामा आफ्नो उपस्थिति विस्तार गर्न खोजिरहेको बताएका छन् । ब्रह्मोस भारत र रुसको संयुक्त लगानीमा निर्मित क्रुज मिसाइल हो ।

यसअघि इण्डोनेसियाको छिमेकी फिलिपिन्सले पनि भारतसँग ब्रह्मोस क्षेप्यास्त्र खरिदबारे ३७५ मिलियन डलर बराबरको सम्झौता गरेको थियो ।