देश/प्रदेश

बम विष्फोटमा परी खुट्टा गुमाएकी शान्तादेवीलाई क्षतिपुर्ति दिन आयोगको सिफारिस

By खबरहब

May 31, 2023

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालमा बिछ्याइएको बम विष्फोटमा परी खुट्टा गुमाएकी खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेकी शान्तादेवी बञ्जरालाई तीन लाख क्षतिपुर्ति दिन सिफारिस गर्ने निर्णय गरेको छ ।

आयोगले द्वन्द्वको समयमा नेपाली सेनाले बिछ्याएको माइन विष्फोट हुँदा २०६४ चैत १० गते देब्रे खुट्टा गुमाएकी शान्तादेवीलाई क्षतिपुर्ति दिन सिफारिस गर्ने निर्णय गरेको हो । बराहपोखरी गाउँपालिका–२ सुन्तले र बराहपोखरी गाउँपालिका–४ फाक्टाङको बीचमा पर्ने सुनापातालको जंगलमा घाँस काट्न गएको बेला टेकिएको बम विष्फोट हुँदा शान्तादेवीको खुट्टा चुँडिएको थियो ।

द्वन्द्वकालिन विष्फोटक पदार्थको कारणबाट अंगभंग भएपनि द्वन्द्वपीडितको कार्यविधिभित्र नपरेपछि शान्तादेवी हालसम्म राहतबाट बञ्चित छिन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधिमा सशस्त्र द्वन्द्व सुरु भएको २०५२ फागुन १ गतेदेखि शान्ति सम्झौता भएको २०६३ मंसिर ५ गतेसम्मका घाइतेको मात्र अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिस गर्ने व्यवस्था भएका कारण शान्तादेवी द्वन्द्वपिडितको परिभाषाभित्र नअटेकी हुन् ।