तस्विर- गेटी इमेज

अन्तर्राष्ट्रिय

बेलायतका रक्षामन्त्रीद्वारा राजीनामा

By खबरहब

August 31, 2023

लण्डन– बेलायतका रक्षामन्त्री बेन वालेसले पदबाट राजीनामा दिएका छन् । गत महिना उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । 

अठार वर्षदेखि संसद् सदस्य रहेका  वालेस विन्स्टन चर्चिलपछि सबैभन्दा लामो समयसम्म बेलायतको रक्षा मन्त्रालय सम्हाल्ने कन्जर्भेटिभ दलको नेता हुन् । नौ वर्ष मन्त्री रहेका उनले चार वर्ष रक्षामन्त्रीका रुपमा सेवा गरेका हुन् । 

त्रिपन्न वर्षीय वालेसलाई प्रधानमन्त्री ऋषि सुनकले पठाएको पत्रमा रुसविरुद्ध युक्रेनका लागि पश्चिमा सहयोगीहरूको समर्थन जुटाउन उनले निर्वाह गरेको प्रमुख भूमिका तथा देशप्रतिको समर्पण र सीपको प्रशंसा गरेका छन् । 

यसैबीच, प्रधानमन्त्री सुनकको कार्यालयले ५४ वर्षीय ऊर्जामन्त्री ग्रान्ट शाप्सलाई रक्षामन्त्री नियुक्त गरेको घोषणा गरेको छ । संवाददाताहरूले नयाँ रक्षामन्त्री शाप्स प्रधानमन्त्रीको कार्यालयमा गएको जनाउँदै उनले बेलायती रक्षामन्त्रीका रुपमा आफूले रुसको अन्यायपूर्ण आक्रमणका विरुद्ध युक्रेनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेको बताए । 

शिक्षामन्त्री क्लारी कुथिन्होलाई क्याबिनेट मन्त्रीका रुपमा बढुवा गरेर ऊर्जामन्त्रीको जिम्मेवारी दिइएको छ ।