ब्रेकिङ स्टोरी

उच्च हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु लाग्ने

By खबरहब

December 31, 2023

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। साथै तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु र कुहिरोका कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेट तथा सूर्यास्त ५ बजेर १९ मिनेटमा हुनेछ ।