धर्म / संस्कृति

चितवनमा तमू ल्होसार मनाइयो 

By खबरहब

December 31, 2023

काठमाडौं– चितवनका गुरुङ समुदायले पनि तमू ल्होसार पर्व धूमधामका साथ मनाएका छन् ।  पुष १५ मा गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई आगमन गराउने परम्परा रहेको छ ।

गुरुङ समुदायले ल्होसारलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन् । ल्होसार पर्व मनाउन चितवनको तिनखोले गुम्बामा गुरुङ समुदायका उल्लेख्य उपस्थिति रहेको थियो ।

गुरुङ समुदायका विभिन्न उमेर महिला पुरुषहरू आ-आफ्नो भेषभुषामा सजिएर आएका थिए ।

१४ गते राती १२ बजे पछि बिरालो बर्गलाई बिदाइ गरेर गरुड बर्गलाई नाच गान र दीप प्रज्वलन गरेर स्वागत गर्ने परम्परा रहेको तमू ह्युल छोज् धी राष्ट्रिय परिषद् बागमती प्रदेश प्रमुख गणेश बहादुर गुरुङले बताए ।

उनले ल्होसार गुरुङ समुदायको सांस्कृतिक पर्वको रूपमा रहेको र नयाँ बर्को अवसरमा गुम्बा धार्मिक स्थलहरू र घर घरमा भेला भएर विशेष कार्यक्रमको साथ मनाउने गरेको बताए ।

ल्होसार पर्व गुरुङ समुदायको आफ्नो भाषा भेषभुषाको संरक्षण गर्नको लागि पनि यो माध्यम भएको र भावी सन्ततिहरू लाई आकर्षित गर्नको लागी ल्होसारमा विविध कार्यक्रमहरू गरिँदै आएको उनले बताए ।

बागमती प्रदेश प्रमुख गुरुङले ल्होसार आर्थिक धार्मिक र सामाजिक दृष्टिकोणबाट पनि महत्त्व पूर्ण चाड रहेको बताए । ल्होसार पर्व गुरुङ समुदायको लोप हुन लागेको संस्कार संस्कृति भाषाको जगेर्ना गर्ने पर्वको रूपमा रहेको तमू समुदायका विक्रम तमूले बताए ।

चितवनका गुरुङ समुदायले पुष १३, १४ र १५ गते विभिन्न कार्यक्रमहरूको आयोजना गरेर ल्होसार पर्व मनाउने गरेका छन् । ल्होसार पर्वको सांस्कृतिक महत्त्व भए पनि युवाहरू बिदेशीने क्रमले गुरुङ समुदायको मौलिक संस्कृति लोप हुन नदिन चुनौती रहेको पत्रकार तुलमान गुरुङले बताए ।

ल्होसारको अवसरमा तमू ह्युल छोज् धी गुरुङ राष्ट्रिय परिषद् महाबौद्ध गुम्बा तिनखोले चितवनले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।