काठमाडौं – भारतको बरौनीबाट हवाई इन्धन लोड गरेर आएका ट्याङ्कर चालकहरू राजकुमार लामा, रुस्तम हुसेन, केशव सुनार र अस्लाम अन्सारी असोज १४ गते राति १ बजे काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन डिपोमा आइपुगे ।
ना ८ ख १५०७ का चालक लामा (५१), ना ४ ख ३४०३ का चालक हुसेन (५७), ना ७ ख २८०४ का चालक सुनार (४४) र ना ४ ख ८६९० का चालक अन्सारी (३९) असोज ९ गते बिहान ८ बजे बरौनीको तेल डिपोबाट ट्याङ्कर चलाएर नेपालतर्फ लागेका थिए ।
बरौनीबाट वीरगञ्ज नाका हुँदै काठमाडौंसम्मको दूरी छिचोलन ३६९ किलोमिटर छिचोल्नुपर्छ । अन्य समय १७ घण्टा अवधिमा पार गर्ने यो बाटो छिचोल्न यस पटक उनीहरूलाई ११३ घण्टा अर्थात् झण्डै पाँच दिन खर्चिनुपर्यो ।
यो बाटो भएर इन्धन ढुवानी गरिरहने ती चारैजना चालकहरूको जीवनमा यसपटकको यात्राले फरक असर पारेको छ । उनीहरूका लागि यो यात्रा भोक, त्रास, पीडा र दुःखको यात्रा बन्यो ।
पानीदेखि पानीसम्म
उनीहरू बरौनीबाट हिँडेदेखि नै पानी परिरहेको थियो । मुसलधारे पानीका कारण त्यहीँबाटै यात्रा असहज भइरहेको थियो ।
‘१० गते बिहान मात्रै वीरगञ्ज भन्सार आइपुग्यौँ, पानी रोकिएन, झन् बढिरहेको थियो,’ चालक राजकुमार लामाले भन्छन्, ‘करिब १ बजे मात्रै भन्सार जाँचपास गरेर हिँडे पनि हेटौंडाभन्दा अघि बढ्ने हिम्मत भएन ।’
असोज १० गतेको रात उनीहरूले हेटौंडामै बिताए । ११ गते पनि पानी रोकिएन । तर, इन्धन काठमाडौं पुर्याउनैपर्ने थियो । बिहानको खाना खाँदासम्म पनि पानी रोकिएन ।
मुसलधारे पानी परिरहेकै बेला उनीहरू हेटौंडाबाट काठमाडौंतर्फ हिँडे । सडकभर पानी नै पानी थियो । खोला बढीरहेको थियो । बाढी चलिरहेको देखिन्थ्यो ।
प्राकृतिक विपत्ति निम्त्याउनेगरी पानी परिरहँदा चालकहरू डराइसकेका थिए । चालकदलमा सबैभन्दा पाका रुस्तम हुसेन थिए । भवितव्य परिहाले कम्तिमा खबरसम्म गर्न सकिन्छ भनी चारैजना चालकहरूले थोरै अघिपछि गर्दै इन्धन ट्याङ्कर गुडाए ।
११ गते साँझ ६ बज्दा उनीहरू मलेखु पुगे । तर, त्यहाँबाट अघि बढ्न सकेनन् । सडकभर गाडीका ताँती थिए, होटल भरिभराउ थियो । पानी दर्किरहेको थियो । प्रायः यात्रुहरू आ–आफ्नै गाडीभित्रै थिए ।
चालक अस्लाम अन्सारीले सुनाए, ‘हामीले पनि ट्याङ्कर साइड लगायौं, एकै ठाउँमा राख्न सकिएन । भेटेको खाली ठाउँमा रोक्यौं, तर बाहिर निस्कनै सकेनौं ।’
खाना दिने, पानी नदिने होटल
पानी रोकिने आशमा जसै ट्याङ्कर रोकेर उनीहरू त्यसैभित्र बसे, भोकले धर दिएन । मुसलधारे झरीकै बीच राति खाना खोज्न हिँडे ।
बल्लतल्ल एउटा होटलमा खाना भेटे । होटलवालाले शाकाकारी खानालाई नै ३०० रुपैयाँ लाग्ने बताए । भोक लागेको थियो, खानै पर्यो । उनीहरू सामान्य खानाको पनि अचाक्ली मूल्य तिर्न बाध्य भए ।
‘खाना दियो, तर टेबलमा पानी नै राखिदिएन, एक बोतल पानीलाई ३० रुपैयाँका दरले किनेर खाना खायौँ,’ अन्सारीले भने ।
उनीहरूले त होटलमा खाना खाए । तर यातायात आवागमन बन्द हुँदा सडकभर अलपत्र यात्रु भेटे । कति भोकभोकै सडकमा लडेका थिए । कति खानेकुरा खोजिरहेका थिए । रातको १२ बजिसकेको थियो । हल्ला चल्यो – ‘बाटो खुल्यो…!’
‘हामी आ–आफ्नो गाडीतर्फ दौडियौं र स्टार्ट गर्यौँ । बाटो खेलेकै रहेछ, तर यात्रा कछुवा गतिमा भयो,’ चालक राजकुमार लामाले भने, ‘विस्तारै–विस्तारै अघि बढ्यौँ, १२ गते बिहान ४ बजे झ्याप्लेखोला छेउको खत्रीपौवा गणेश मन्दिरनजिक पुग्यौँ, यात्रा फेरि रोकियो ।’
किनकी, झ्याप्लेखोलामा माथिबाट खसेको गेग्रान र लेदोसहितको पहिरोले विध्वंश मच्चाइसकेको थियो । त्रसित र थकित यात्रुसहित गाडी नै बगाएको थियो ।
त्रासदीपूर्ण ४० घण्टा
ती चालकहरू असोज १२ गते बिहान ४ बजेदेखि १३ गते साँझ ८ बजेसम्म झ्याप्लेखोलादेखि करिब दुइकिलोमिटर पर जाममै फसे । अस्लाम सुरुङ मार्गको छेउमा थिए । केशव र रुस्मान अलि पछि र राजकुमार त्यसभन्दा पनि पछि थिए ।
‘झ्याप्ले खोलामा पहिरो खसेछ, त्यही भएर जाम भएको भन्ने सुनियो, तर गाडीबाट निस्केर जान हेर्न सकिएन,’ अस्लामले भने, ‘पहिरोमा गाडी पुरिएको भन्ने चाहिँ सुनिएको थिएन, तर पछि थाहा भयो कि त्यहाँ पहिरोभित्र गाडी र यात्रु नै पुरिएका रहेछन् । धेरैको ज्यान खाएछ पहिरोले । त्यो थाहा पाएपछि हामी झनै आत्तिन थाल्यौँ ।’
त्यो दिन उनीहरूले त्रासका बीच त्यहीँ बिताउनुपर्यो । साँझ छिप्पिन थाल्यो । पहाडबाट ढुङ्गा, गिट्टी, लेदो र रुखका जराहरू झरिरहेका थिए । पानी पर्न रोकिएकै थिएन । बाहिर कतै होटलहरू थिएनन् । भोक लागिरहेको थियो । धन्न ! चिउरा र चाउचाउ जोहो गरेका थिए । त्यसैले भोक टारे ।
कतिबेला पहिरो खस्छ, कुन गाडीमाथि रुख बज्रिन्छ, को माथि ढुङ्गा झर्छ, पीरैपीर थियो । पिउनलाई पानी छैन, शौचालय जान समस्या, चनाखो बस्नुपरेको छ, निदाउन सकिँदैन, शरीरमा थकान उस्तै, सडक खोलाजस्तै छ, जताततै हिलाम्य छ । गाडीहरूको ताँती छ, महिला, बालबालिका, वृद्धवृद्धा यात्रुहरूको बिचल्ली र रुवाबासी छ । रुस्मान अन्सारीलाई अहिले पनि त्यो हालतले झस्काइरहेको छ ।
जति विपद् बढ्दै थियो, चालक केशव सुनुवार उत्ति नै बढी आत्तिइरहेका थिए । बेलाबेला त अब कसैको जीवन बाँकी रहँदैन जस्तो लागेको उनले सुनाए । भने, ‘अरूको अवस्था देखेर हामीले चित्त बुझायौँ । म पहिरोको डेन्जर जोनमा थिएँ, तर बाँचेर आएँ । पहिरो झरेन, मेरो जीवन बाँकी रहेछ ।’
तर उनलाई अर्को कुराले अत्याइरहेको थियो । किनकी उनले चलाएको ट्याङ्करमा अति प्रज्वलनशील हवाई इन्धन थियो । ट्याङ्करमा पहाडबाट ढुङ्गा झरेर लाग्यो भने पनि आगो बल्न सक्थ्यो । त्यो बेला कसरी बाँच्ने भन्ने चिन्ताले उनलाई सताइरहेको थियो ।
साँझ आठ बजेको त्यो सूचना
असोज १३ गते साँझदेखि पानी रोकिन थाल्यो । पहिरो पन्छाइँदै थियो, यात्रुहरूको शव निकालिँदै थियो, त्रिभुवन राजपथको त्यो खण्डमा अलपत्र परेका सबै यात्रु र चालकको मन बेचैन थियो ।
दृश्य कहालीलाग्दो थियो, वातावरण कोलाहलमय थियो, गाडी, यात्रुहरू र अन्य सर्वसाधारणको भीड अचाक्ली थियो, शरीर गलेको थियो । पहिरोको कापबाट कतिबेला छुट्कारा पाउने हतारो थियो ।
साँझ ८ बजे एकतर्फी बाटो खुलेको सूचना आयो । विपत्ति र मृत्युको त्यो भयावहताको प्रत्यक्षदर्शी ती चालकहरू त्यहाँबाट अघि बढे । गाडीको गति उही कछुवा चालमा थियो । जाममा गाडी घ्यार्रघ्यार्र पार्दै बल्लतल्ल पाँच घण्टापछि रातको १ बजे उनीहरू सिनामंगलस्थित डिपोमा पुगे ।
यसरी भारतको बरौनीबाट काठमाडौंको सिनामंगलसम्मको यात्रा उनीहरूले ११३ घण्टे त्रासदीयुक्त अवधिमा पूरा गरे ।
नभेटिएको र नदेखिएको राज्य
अरूबेला चोकचोकमा, घुम्तीघुम्ती र मोडमोडमा देखिने भेटिने ट्राफिक प्रहरी, जनपद प्रहरी तथा प्रशासन त्यस्तो विपत्तिको बेला तीन दिनसम्म राजमार्गमा नभेटिएको चालकहरूले बताए ।
सुरक्षा निकायसहति राज्यका सबै संयन्त्र विपद्का बेला झनै जनताका साथी हुनुपर्नेमा उनीहरूले त्यस्तो पाएनन् । रोइरहेका यात्रुहरू, विक्षिप्त भएका महिला र बालबालिकाहरू तथा पाका उमेरका मानिसलाई सहयोग आवश्यक परेका नै राज्यको अनुपस्थिति देखाएका उनीहरूलाई अझैसम्म बिझाइरहेको छ ।
प्रहरी र सेनालाई १३ गते बिहानपख पहिरो पन्छाउने समयमा स्काभेटरमा इन्धन चाहिने समयमा मात्रै देखिएको उनीहरूले बताए । तर तीन दिनसम्म पहिरो पन्छाउने, बाटो सुचारु गर्ने, त्यसका लागि आवश्यक पूर्वाधारहरूको जोहो गर्ने विषयमा राज्यले कुनै पनि काम गरेको देखिएन । राज्यले तदारुकता देखाएको भए त्यति लामो समय त्रासमा बस्नुपर्ने र कयौँ यात्रुहरूले ज्यान गुमाउनुपर्ने अवस्था टार्न सकिने चालकहरूलाई लागिरहेको छ ।
काठमाडौंमा सम्मान
यातायात मजदुरहरूले आफ्नो ज्यानलाई हत्केलामा राखी कष्टपूर्ण यात्रा पार गरेर इन्धन ढुवानी गरेकै कारण विपत्तिपछि देश थोरै भए पनि चल्मलाएको छ ।
तीन चालकहरूको त्याग र सेवालाई उनीहरूकै वर्गको छाता संस्थाले सम्मान गर्यो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ती चालकहरूलाई खदा लगाएर सम्मान गरेका हुन् । उनीहरूले अनेक दुःख खेप्दै त्रासदीपूर्ण मृत्युमार्गमा यात्रा सफल गरेका साहसी चालकहरूलाई सम्मान गरिएको अध्यक्ष राईले बताए ।
सम्मान ग्रहण गर्दै रुस्तम हुसेनले इन्धन ल्याइएको, तर अब कसरी फर्कने भन्ने चिन्ता थपिएको बताए । असोज १४ गते ३ बजे सिनामंगलबाट फर्किएका ती चालकहरूको टोली सोमबार राति १० बजेर १५ मिनेटमा नागढुङ्गामा पुगेका थिए । राजमार्गमा पुनः पहिरो खसेको खसेका कारण आफूहरू त्यहीँ रोकिएको उनीहरूले बताए ।
उही मृत्युमार्ग छिचोल्दै भारत जाँदै गरेका राजकुमार लामा, रुस्तम हुसेन, केशव सुनार र अस्लाम अन्सारीजस्ता चालकहरूले इन्धन ल्याएपछि विमानस्थलबाट जहाज उड्नेछ । उनीहरूले ल्याएको इन्धन हालेर उडेका जहाजले मानिसहरूलाई काठमाडौंबाट संसारभर पुर्याउनेछ ।
मानिसहरू संसारको कुना कुनामा पुगिसक्दा ती चालकहरू उही जोखिमयुक्त राजमार्गमा धिमा गतिमा इन्धन ट्याङ्कर गुडाइरहेका हुनेछन् ।
(नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईसँग कुराकानीमा आधारित ।)