ब्रेकिङ स्टोरी

मन्त्रिपरिषद बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

By खबरहब

January 01, 2024

काठमाडौँ– राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् ।

मन्त्रिपरिषदमा हुने खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख जोगिएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । मन्त्रिपरिषद बैठकमा सामान्य खाजा खुवाउन सुरु गरिएको छ ।

सुशासन र सुधारमा ससाना विषय पनि महत्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री दाहालले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको उनको भनाइ छ ।

सरकारको कार्यशैली बदल्ने घोषणा गरेका प्रधानमन्त्री दाहालले सार्वजनिक बिदाका दिन बाहेक दैनिक १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन् ।