समाचार

बालकुमारी घटनामा मन्त्री ज्वालाको सवारीले स्थिति असामान्य बन्यो : प्रहरी महानिरीक्षक कुँवर

By खबरहब

January 01, 2024

काठमाडौं– प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रदर्शन भइरहेका बेला नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सवारी हुँदा स्थिति झन असामान्य बन्न पुगेको बताएका छन् ।

सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे जानकारी दिने क्रममा उनले प्रहरी र मन्त्रीको पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको बताएका हुन् ।

‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन । भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो,’ उनले भने, ‘प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखियो ।’

गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा बञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । युवाहरु प्रदर्शनमा उत्रिएका थिए । तर, प्रदर्शनकारीको नेतृत्व कसैले नगरेको र अराजक रूपमा जसले जे पायो त्यही गर्ने अवस्थामा रहेको महानिरीक्षक कुँवरले बताए ।

सो घटनामा प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको जानकारी दिँदै उनले २१५ नेपाल प्रहरी र ७५ जना सशस्त्र प्रहरी खटिएको बताए ।