खेलकुद

एसिसी प्रिमियर कप टी-२० प्रतियोगिता चैत अन्तिम साता हुने

By खबरहब

January 01, 2024

काठमाडौं – दोस्रो संस्करणको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता चैत २८ देखि वैशाख ११ (अप्रिल १० देखि २३) मा गर्ने प्रस्तावित मिति सार्वजनिक गरेको हो । प्रिमियर कपमा १० टिमबीच २४ खेल हुने एसिसीले जनाएको छ ।

प्रतियोगिता आयोजकको टुंगो लागेको छैन । यद्यपी यो संस्करणको प्रिमियर कप मध्य पूर्वमा गर्ने एसिसीले जनाएको छ ।

प्रतियोगितामा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कतार, कुवेत, बहराइन तथा च्यालेन्ज कपको विजेता र उपविजेताले भाग लिनेछन् ।

यो प्रतियोगिताको विजेता एसिया कप २०२५ मा छनोट हुनेछ । विजेता, उपविजेता र तेस्रो हुने टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप २०२४ खेल्न पाउनेछन् ।

नेपालले सन् २०२४ को टी–२० विश्वकपअघि एसिसी प्रिमियर कप खेल्न लागेको हो ।