ब्रेकिङ स्टोरी

रिहा भए जनमत पार्टीका अध्यक्ष सिके राउत

By खबरहब

January 01, 2024

काठमाडौं – निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै नेपाल प्रहरीले नियन्त्रणमा लिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र सो पार्टीका नेता एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीसहितका कार्यकर्ता केही समयको हिरासतपछि रिहा भएका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका राउतसहित सो पार्टीका ६३ जनालाई प्रहरीले हिरासतमा लिएको थियो । उनीहरूले काठमाडौँको नयाँ बानेश्वरबाट माइतीघरतर्फ पदयात्रा गरिरहेका बेला निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिइ नेपाल प्रहरी क्लबमा राखिएको थियो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायाणकाजी श्रेष्ठ सो क्लबमा आफै पुगी अध्यक्ष राउत, मन्त्री अनिता देवी र प्रदर्शनमा सहभागी सबैलाई रिहा गर्न आदेश दिएको गृहमन्त्रीका प्रेस संयोजक कमल गिरीले जानकारी दिए । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नमिल्ने भएकाले काठमाडौँ प्रहरी परिसरले हिरासतमा लिएको बताए ।