ब्रेकिङ स्टोरी

कुकुरको भर, सन्तानको डर

By संकेत कोइराला

February 01, 2024

बाबु : हेर, न छोरी खातापिता, पढाइमा तीक्ष्ण एउटा शाखा अधिकृतको कुरा आको थियो। छोरी : (फन्किदै) के म यो घरका लागि धेर भाकी हुँ। मलाई गर्नु छैन बिहे सिहे। (दुई महिनापछि ) बाबु : छोरी, सरकारी अस्पतालको डाक्टर रे। एमडी गर्दै गरेको, हेर्दै लायक केटा रहेछन्। के छ तिम्रो विचार ? छोरी : (झोक्किदै) मलाई किन बारम्बार तनाव दिनुहुन्छ हँ ? म आफ्नै करियर भएकी मान्छे हुँ। अहिले बिहे गर्नु छैन। यस्तै दबाब दिनुभयो भने म जस्तो सुकै अप्रिय निर्णय लिन बाध्य हुनेछु। त्यसको जिम्मेवार तपाईं हुनुहुनेछ। (छोरीको बिहेका लागि बाबुले इन्जिनीयर, पाइलट, व्यापारी, वकिल सबै तह र तप्काका केटा खोज्दा नभएपछि दिक्क मानेर हरेस खाँदै फेरि सोधेछन्।) बुबा : अमेरिकाको डीभी परेको, बल्लबल्ल चिट चोरेर १२ पास गरेको एउटा डुकुलन्ठू माग्न आएको छ। बिहे गरेर महिनाभित्रै अमेरिका लाने भन्छ। मलाई त पटक्कै मन परेको छैन। तिमीलाई केही भन्नु छ छोरी ? छोरी : (मसक्क मस्कँदै) मैले हजुरको कुरा कहिले काटेकी छु र ? ज्योतिषले मेरो भाग्यमा विदेश जाने नै लेखेको छ भन्थे। आखिर पुग्ने छाँट आयो। कुरा अगाडि बढाइस्योस् न त बाबा।

सिमेन्ट, बालुवा र इँटाले बनेर निष्प्राण ठिङ्ग उभिएको संरचनाबाहेक आस्था, विश्वास र भरको सम्मिश्रणलाई घर मान्ने हो भने नेपाली समाजमा खडेरी लाग्दै गएको छ। हाँडीमा भुटेको ठेट्ना मकै खाने र पपकर्नमा रमाउने पुस्ताको मतान्तरको सेतू पहिल्याउन नसक्दा हरेक परिवारमा शान्तिपूर्ण विद्रोहको लाभा उम्लिदैछ। एकातिर प्रत्येक छानोमा तीन पुस्ताको मिलन दुर्लभ बन्दै गएको छ भने अर्कातिर घरलौरी जनही मोबाइल सेटको जरुरी बढ्नुले पनि सामञ्जस्य, समन्वय, सल्लाह र सम्मानका डोरीहरु चुडिदै गएका छन्।

सिमेन्ट, बालुवा र इँटाले बनेर निष्प्राण ठिङ्ग उभिएको संरचनाबाहेक आस्था, विश्वास र भरको सम्मिश्रणलाई घर मान्ने हो भने नेपाली समाजमा खडेरी लाग्दै गएको छ।

हरेक पुस्ता आफ्नो समयको बखानमा मस्त छ। पहिलो पुस्ता आफ्नै स्वाभिमान र पुर्खाको वर्चस्वमा घमण्ड गर्छ। नयाँ पुस्ता जन्मभूमिलाई ट्रान्जिटको रुपमा हेर्छ। उसका हरेक योजना युरोप, अमेरिका केन्द्रित छन्। घर व्यवहार, पाहुनापासा, आफन्त उसका नजरमा आँखाका कसिँगर हुन्। दाँत देखाएर ङिच्च हाँस्नु तिनका लागि असभ्य कर्म हो। बरु मोबाइलको किबोर्ड थिच्दै अक्षरको निर्जीव हिहीमा रमाउँदै गएको छ टीनएज पुस्ता। हजुरबा, हजुरआमा पुस्तासँगको संगत यो उमेरलाई बिझाउँछ। यी दुई सम्बन्धमा फेबिकोल बन्नुपर्ने बाआमा पुस्ता मरिच चाउरिए झैं चाउरिएको छ।

७७ जिल्लामध्ये कुनै जिल्लामा भएको आफ्नो भौतिक सम्पत्ति ऐश्वर्य नठान्ने तर जसरी हुन्छ, काठमाडौंमा एउटा टहरो ठड्याउन र सन्तान विदेश पठाउन सके जीवन सार्थक ठान्ने यो पुस्ता भीरको चिन्डो भएर बाँच्न विवश छ। बरु घरव्यवहारको भ्वाङ टाल्दाटाल्दै शरीरमा रोगले राष्ट्रिय सहमति गरिसक्दा पनि ऐया भन्न पाएको छैन्।

घरजग्गा जोड्ने र सन्तानको सपना पूरा गर्ने तिर लाग्दा माखामुन्द्रो, कमाइ सबै बैंकमा बुझाउन बाध्य यो पुस्ता गरी खानु, न मरी जानुको अवस्थामा छ। अब त सन्तानमाथिको लगानीले धेरैको घरबार उठ्ने अवस्था बन्दै गएको छ। सन्तान विदेश तार्न गरिने लगानी भनेको बालुवामा पानी हो। यता बैंक पोस्ने, उता क्याक्टसमा मलपानी हाल्ने खेतीले अर्थतन्त्र बेहिसाव बन्दैछ। सबैलाई थाहा छ– वित्तीय कारोबार गर्नेहरु बादल लागेको बेला छाता दिन्छन्, पानी परेपछि फिर्ता माग्छन्।

घरजग्गा जोड्ने र सन्तानको सपना पूरा गर्ने तिर लाग्दा माखामुन्द्रो, कमाइ सबै बैंकमा बुझाउन बाध्य यो पुस्ता गरी खानु, न मरी जानुको अवस्थामा छ। अब त सन्तानमाथिको लगानीले धेरैको घरबार उठ्ने अवस्था बन्दै गएको छ।

समृद्ध र अरुभन्दा पृथक बन्न खोज्दा संसारको सबैभन्दा निर्धन र निर्बल मानिस बन्नुपरेको दृष्टान्त समाजमा छताछुल्ल देखिन्छ। एकादेशको मिथकजस्तै गाउँमा गरिबले खाने ढिंडोरोटो, च्याँख्ला, सिस्नोजस्ता अखाद्य पदार्थ अहिले सहरमा धनीले खाने महँगा ‘अर्गानिक भुजा’ भएका छन्। अरुका अगाडि छोराछोरी युरोप अमेरिकामा भएको भाषण गर्नेहरु नातिनातिनाको निरास मेट्न ‘टमी’लाई मर्निङवाकको साथी बनाउन बाध्य छन्। युरोप, अमेरिका टेक्नुप-यो भने छोरीबुहारीको सुत्केरी, सन्तानको दीक्षान्त समारोह जुर्नुपर्ने अवस्था छ। छोराछोरीका नजरमा जन्म दिने बाबुआमा कि कर्म दिने आमाबा प्राथमिकतामा पर्छन्, त्यसको निक्र्योल डिभी चिट्ठाजस्तै कठोर र अदृश्य छ। घर घरका मानिसलाई कुरा सुनिदिने मानिस चाहिएको छ।

सामाजिक निरासालाई राज्यका गतिविधिले त झन् कोमामै पुर्याइ दिन्छन्। मुलुकका योजनाविद्हरु जँड्याहालाई बाख्रो अनुदान दिने कामबाट गरिबी निवारणको ओखती खोज्छन्। उनीहरुको खाकामा बाख्रो दिएको, त्यसले सन्तान फैल्याएको आँकडा त हुन्छ तर उसले हप्ता दिनमा बोतलको पानी रित्याउन त्यही बाख्री सितनका खातिर ढालेको यथार्थ हुँदैन।

समस्याको जड पढेलेखेका सभ्य, शिक्षित मानिसमा छ तर हामी राउटे र चेपाङ बस्तीमा कुद्न छोड्दैनौं। विद्यमान नियम कानुन, आर्थिक प्रशासन, हाकिमका तजविजी अधिकारले निम्त्याएका अपराधको लेखाजोखा गर्ने फुर्सद कसैलाई छैन। देशका मेरुदण्ड न्यायालय, पुलिस, भूमिसुधार, यातायात, राजश्व र भन्सार प्रशासन पुरै दलालको कब्जामा छ। यी ठाउँमा विशुद्ध सेवाग्राही काम लिएर जाँदा पहिलो गेटमै अस्वीकृत हुन्छ तर दलालमार्फत गएको काम एकछिनमा तमाम् हुन्छ।

राजश्व बुझाउन पनि घुस ख्वाउनुपर्ने संसारको एक मात्र अजीव मुलुकको कोटीमा हाम्रो उपस्थिति दर्विलो छ। कुन चाहिँ माइकलाल हाकिम छ, जसले आफ्नै कार्यालयको लेखा अडिट गराउँदा अर्को सरकारी संयन्त्र महालेखापरीक्षकका अडिटरलाई घुस ख्वाएको नहोस्।

राजश्व बुझाउन पनि घुस ख्वाउनुपर्ने संसारको एक मात्र अजीव मुलुकको कोटीमा हाम्रो उपस्थिति दर्विलो छ। कुन चाहिँ माइकलाल हाकिम छ, जसले आफ्नै कार्यालयको लेखा अडिट गराउँदा अर्को सरकारी संयन्त्र महालेखापरीक्षकका अडिटरलाई घुस ख्वाएको नहोस्। कुन हाकिम छन् नगरपालिकामा नक्सा पास गराउँदा अतिरिक्त शुल्क नतिरेका होउन। कुन चाहिँ देश बनाउँछु भनेर छाती फुलाउनेले भन्न सक्छ- ‘मैले मालपोत र नापीमा जग्गाको काम गर्दा एकपैसा पनि घुस ख्वाएको छैन्।’

आफ्नो हातले नभए पनि दोस्रो मान्छेका माध्यमबाट यी काम तमाम् भएकै छन्। आदर्शको महाभारत वाचन गर्दा कर्तव्यको धरातल बिर्सने सर्वत्र छन्। सबै जागिरेलाई ‘राम्रो’ ठाउँ चाहिएको छ। राम्रो भनेको आमा, श्रीमतीले भात पकाएर खान दिने ठाउँ नभएर शुभलाभको सहज प्राप्तिको बुझाइ नयाँ नेपालमा झनझन् प्रगाढ बन्दै गएको छ।

म्यानपावर, जग्गा दलाल, बालुवागिटीका खेलाडी, राजश्वमारा व्यापारी, तस्करले राजनीतिक दल र तिनका सयौं भातृसंस्थाको महाधिवेशनको जिम्मेवारी लिनुपरेपछि सुशासन कुन चरीको नाम हो आफैं अन्दाज गर्न सकिन्छ। सरकारी कर्मचारीको सन्तान बाउको पेशा किन रोज्दैन ? किनकी सरकारी जागिरको अलोकप्रिय, अपारदर्शी र संकीर्ण कार्यशैलीबाट उ कायल छ।

जात, क्षेत्र, सम्प्रदाय र धर्मका नाममा स्वार्थको रोटी सेकाउने प्रतिस्पर्धा बढ्दो छ। मर्न आँटेको बेसाहार गाईको लाम्टो चुस्न झुत्ती खेलेझैं देशसँग ब्याज असुल्नेको भीड छिचोली साध्य छैन।

०४० को दशकसम्म जग्गा र सरकारी जागिरमा काठमाडौंका नेवार समुदायको वर्चस्व थियो। अहिले दुवै क्षेत्रमा तिनीहरुको पकड हराएको छ। किनभने अर्को पुस्ताले विरासत धान्ने छाँट नै ल्याएन। अहिले अतिवादको नाराले यत्र, तत्र, सर्वत्र विटुल्याएको छ। जात, क्षेत्र, सम्प्रदाय र धर्मका नाममा स्वार्थको रोटी सेकाउने प्रतिस्पर्धा बढ्दो छ। मर्न आँटेको बेसाहार गाईको लाम्टो चुस्न झुत्ती खेलेझैं देशसँग ब्याज असुल्नेको भीड छिचोली साध्य छैन।

नेपाली संवत, नेपाली भाषा, नेपाली मुद्राको चीरहरण भएको अवस्थामा जातीय, क्षेत्रीय, धार्मिक दुन्दुभि बजाउनेको आवाज चर्को बन्दो छ। एक किलो नेपाली पैसा दिँदा एक तोला डलर किन्ने हैसियत नभएका हामी देशको हितमा नभएर जातीय मुद्दामा पेचिला बन्दैछौं। एक्काइसौं शताब्दीमा जन्मिएको सन्तानलाई जात, सम्प्रदाय, धर्मका नाममा विभक्त गर्दा उसको दाल, भात, डुकू सुरक्षित हुन सक्ला कि नसक्ला ? यतातर्फ कसैको सोच गएको देखिन्न। भोलि उसको भात र जीवनयात्रामा कठिनाइ आयो भने उसले आफ्नै बाउको घाँटी ठुन्क्याउने निश्चित छ।

चाणक्यले भनेका छन्- ‘जुन देशमा आफ्नो सम्मान छैन, अनि जहाँ जीविका चलाउने साधन छैन, जहाँ बन्धुवान्धव छैनन्। जहाँ विद्याध्ययन गर्ने उपाय, दण्डको भय, लाज, चातुर्य र त्यागभाव छैन, त्यस्ता ठाउँमा बास बस्नु हुँदैन। त्यस्तो स्थान छोडेर अन्यत्र गई यी विषयको खोजी गर्नु उपयुक्त हुन्छ।’ विदेशिएकाहरुले चाणक्यका यही नीति सन्देशलाई शिरमा राखिरहे भने के हुन्छ ?

ज्ञान, धन र विश्वास तीन ज्यादै मिल्ने साथी थिए। तिनीहरुको प्रेम पनि अगाध थियो। एकदिन परिस्थितिबस एक अर्कासँग छुटिनुपर्ने दिन आयो। उनीहरुले आपसमा सल्लाह गरे- अब हाम्रो भेट कहिले र कहाँ हुन्छ ?

परिस्थिति प्रतिकूल भएपनि मनस्थिति अनुकूल बनाउनुपर्छ। मलामी र जन्ती हिँड्ने बाटो किमार्थ अलग हुन्न। मरेपछि धनी र गरिबको खरानी अलग भएको दृश्य कसैले खुट्याएको छैन्।

ज्ञान : म मन्दिर, मस्जिद र विद्यालयमा भेटिन्छु। धन : मेरो बास धनी साहु, महाजनको घरमा हुन्छ। विश्वास चुप थियो। दुवैले चुप रहनुको कारण सोध्दा उसले आँसु खसाल्दै जवाफ दियो- म एकपल्ट गएँ भने कहिल्यै पनि फर्कन्न। परिस्थिति प्रतिकूल भएपनि मनस्थिति अनुकूल बनाउनुपर्छ। मलामी र जन्ती हिँड्ने बाटो किमार्थ अलग हुन्न। मरेपछि धनी र गरिबको खरानी अलग भएको दृश्य कसैले खुट्याएको छैन्। त्यसैले जीवनका पारखीहरु सुझाउँछन्- अध्ययन गर्दा कहिल्यै मर्दिन भन्ने भावना राख र व्यवहार गर्दा भोलि मर्छु भन्ने सत्य सम्झ।

शास्त्रले खबरदारी लगाउँदै भनेको छ- अन्याय गरेर कमाएको धन दश वर्षसम्म टिक्दछ। एघारौं वर्ष लागेपछि मूलधनसहित स्वाहा हुन्छ।