शिक्षा

शैक्षिक सुधारमा गलकोट नगरको सक्रियता

By खबरहब

February 01, 2024

बागलुङ– आधा दशक अगाडिसम्म गलकोटका बजारी तथा ग्रामीण क्षेत्रका विद्यालय जीर्ण थिए । काठ, माटो र ढुङ्गाले बनेका भवनमा पठनपाठन गरिन्थ्यो । डेस्क, बेञ्च अभावमा विद्यार्थी धुलोमै बसेर पढ्न बाध्य थिए ।

पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाइने समस्याबाट यहाँका अधिकांश विद्यालय ग्रसित हुँदै आएका थिए । तर स्थानीय सरकार गठनपश्चात् अहिले भौतिक मात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ ।

हटिया बजारदेखि गाउँगाउँका विद्यालय पक्की बनेका छन् । विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ । नगरपालिका ‘बालमैत्री नगर’ घोषणासमेत भइसकेको छ ।

शैक्षिक गुणस्तर बढाउनका लागि नगरपालिकाले सामुदायिक विद्यालयको तह मिलान तथा समायोजनसमेत गरिरहेको छ । ६२  सामुदायिक विद्यालय सञ्चालनमा रहेको गलकोटमा १३ माध्यमिक र ५१  आधारभूत तहका विद्यालय छन् ।

सबै विद्यालयलाई प्रविधिमैत्री बनाउँदै गएको छ । पहिले जीर्ण भवनमा पठनपाठन गर्दै आएकामा अहिले सबैभन्दा दुर्गमका वडामा पनि पक्की भवन बनेर शैक्षिक क्रियाकलाप भइरहेका छन् । शिक्षाको गुणस्तर बढाउनका लागि कक्षा ५, ८ र १० को अर्धवार्षिक तथा वार्षिक परीक्षा नगरपालिकास्तरीय सञ्चालन गर्दै आएको छ ।

विद्यालय भवनको अभावमा लामो समयदेखि समस्या भोग्दै आएकामा पछिल्लो दुई वर्षयता भौतिक संरचनाले पूर्णता पाएपछि पठनपाठन प्रभावकारी बन्दै गएको नवयुवक आधारभूत विद्यालय गलकोट नगरपालिका–२ ठानाका प्रधानाध्यापक विष्णुप्रसाद गैरेले बताए ।

भौतिक विद्यालयमा कुर्ची अभाव हुँदा बालबालिका भुइँमै बसेर पढ्दा बिरामी हुने गरेको भन्दै अहिले कुनै पनि विद्यार्थी खुला चौर र धुलो भुइँमा बस्नु नपर्ने उनको भनाइ छ । विद्यालय भवन व्यवस्थित भएपछि विद्यार्थीको आकर्षित बढेको र नतिजा पनि बर्सेनि सुधार हुँदै गएको उनले जानकारी दिए ।

गलकोट– ४ चमुवास्थित चमुवा आधारभूत नगरपालिकामा उत्कृष्ट विद्यालय मानिन्छन् । विंसं २०७६ यता विद्यालय भवन पूर्णरुपमा निर्माण भएपछि शैक्षिक गुणस्तर बढेको प्रधानाध्यापक नवीन सुवेदीले बताए ।

चार वर्ष अगाडि अव्यवस्थित विद्यालय भवनका कारण गुणस्तर बढाउन नसकिएको भन्दै अहिले पालिकामै राम्रो नतिजा ल्याउन सकिएको उनको भनाइ छ । नगरपालिकासँगै समुदायले पनि विद्यालय सुधारका लागि ठूलो भूमिका खेलेको प्रधानाध्यापक सुवेदी बताउँछन् ।

नगरपालिकाले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन तथा तह मिलान गरी पठनपाठनलाई थप प्रभावकारी बनाउँदै गएको छ । तह मिलान तथा विद्यालय समायोजन कार्यविधि विसं २०७९ बनाएर हालसम्म यहाँ १२ विद्यालय समायोजन गरिसकेको छ ।

पाँच वर्ष अगाडिसम्म गलकोट नगरपालिकाभर ७४ वटा सामुदायिक विद्यालय थिए । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएपछि नगरपालिकाले विसं २०७५ देखि विद्यालय तह मिलान तथा समायोजन गर्न थालेको हो । विद्यालय समायोजनपछि दूरी टाढा पर्ने विद्यार्थीलाई पालिकाले यातायातको व्यवस्था गर्दै आएको छ ।

नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा १५ जना, १–५ मा २५, ६–८ मा २१, ९–१० मा २५ र ११–१२ मा २५ जना विद्यार्थी हुनुपर्ने मापदण्ड बनाएको छ ।

विद्यालयको भौतिक संरचनामा धेरै सुधार आएको हुँदा अब नगरपालिका गुणस्तरीय शिक्षालाई जोड दिन थालेको नगरपालिकाका शिक्षा अधिकृत शिव खड्काले बताउनुभयो । हरेक वर्ष उच्च जिपिए ल्याउने विद्यार्थी करिब २० प्रतिशतले बढेको उन्को भनाइ छ ।

विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलाप गराउने र प्रतिभासमेत पहिचान गरी प्रोत्साहन गरिरहेको उनको भनाइ छ । अङ्ग्रेजी, गणित र विज्ञान विषयको नगरस्तरीय विषय विज्ञ गठन गरेका गरेको र यसले शिक्षण सिकाइ क्रियाकलापमा आएका अप्ठ्यारालाई समाधान गर्ने सम्बन्धित विषयका शिक्षकसँग छलफल गर्ने उनले बताए ।

गलकोटले हरेक वर्ष शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने र सोही अनुसारका कार्यक्रम गर्दै आएको प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।

पहिलो कार्यकालमा भौतिक संरचना सुधारमा लागेको जनाउँदै अहिलेको मुख्य उद्देश्य गुणस्तर बढाउनुभएको उनको भनाइ छ ।