सांकेतिक तस्बिर

समाचार

विदेश पठाइदिने भन्दै रकम ठगीको आरोपमा एकजना पक्राउ

By खबरहब

February 01, 2024

काठमाडौं– विदेश पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।  माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाइदिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

बालाजुमा युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

विकाश वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । एकजनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।