क्रिकेट

कुशल मल्लको अर्धशतकमा नामिबियालाई १८१ रनको चुनौती

By खबरहब

March 01, 2024

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले नटआउट ५५ रन बनाए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाएका हुन् ।

उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो चौथो अर्धशतक हो ।

८ ओभरमा ४ विकेट गुमाएको नेपालको इनिङ्स कुशल र आरिफ सेखले सम्हालेका थिए । सेख ३१ रनमा आउट भए ।

यसअघि ओपनर आसिफ शेखलाई १ रनमा गुमाएको नेपालका कप्तान रोहित पौडेल १० रनमा आउट भएका थिए ।

तेस्रो विकेटको रुपमा नेपालका अनिल शाह २३ रनमा आउट भए । गुलसन झा १६ बलमा २६ रन बनाएर आउट भए ।

दिपेन्द्रसिंह ऐरीले १६ र करन केसीले ७ रन बनाए । सोमपाल कामी २ रनमा आउट हुँदा प्रतिस जिसी १ रनमा नटआउट रहे ।