समाचार

शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवनअगाडि प्रदर्शन, विद्यार्थी नेता पक्राउ

By खबरहब

March 01, 2024

काठमाडौं- चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज राजधानीमा प्रदर्शन गरेको छ । संसद भवन नयाँ बानेश्वरअगाडि नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले दोषीलाई कडा कारबाहीको माग गर्दै पीडितलाई न्याय दिन माग गरे ।

प्रदर्शनका क्रममा प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए । उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपाली लगायतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई तत्काल रिहा गर्न पनि नेविसंघले माग गरेको छ ।

शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेवि संघले आन्दोलन थप चर्काउँदै लैजाने नेविसंघका अर्का नेता सुभाष पौडेलले जानकारी दिए ।

नेविसंघले देशैभरि प्रदर्शन गर्ने तयारी गरेको समेत उनको भनाइ छ । चितवनको रत्नगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् । घटनालाई दबाउने प्रयास नगर्न र पीडितलाई न्याय दिन नेविसंघले माग गरेको छ ।