प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानमा बाल यौन दुर्व्यवहारका घटना बढ्दै

By खबरहब

March 01, 2024

इस्लामावाद- पाकिस्तानमा बाल यौन दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । सन् २०२३ मा पाकिस्तानमा कुल ४ हजार २१३ वटा बाल दुर्व्यवहार (यौन तथा अन्य) का घटनाहरू भएका छन् ।

स्थानीय गैर-सरकारी संस्था साहिलले शुक्रबार जारी गरेको प्रतिवेदनमा यसबारे जानकारी दिइएको छ । ती घटनाहरू ८१ वटा राष्ट्रिय तथा क्षेत्रीयस्तरका पत्रपत्रिकामा उल्लेख गरिएका घटनाका आधारमा संस्थाले सङ्कलन गरेको तथ्याङ्कले गत वर्ष पाकिस्तानमा दैनिक करिब ११ जना बालबालिका दुर्व्यवहारको शिकार भएको देखाएको छ ।

जम्मा रिपोर्ट गरिएका घटनाहरू मध्ये २ हजार २५१, अथवा लगभग ५३ प्रतिशत पीडित बालिका भएको देखिएको छ भने १ हजार ९६१ जना अथवा करिब ४७ प्रतिशत बालकहरू दुर्व्यवहारको शिकार भएको पाइएको छ ।

पीडितहरूमध्ये ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरू दुर्व्यवहारको सबैभन्दा बढी जोखिममा परेको पाइएको छ । तीमध्ये पनि बालिकाहरू बढी पीडित छन् । प्रतिवेदनले ५ वर्ष मुनिका बालबालिकाहरू पनि यौन दुर्व्यवहारको शिकार भएको देखाएको छ । बढीजसो चिनजानका व्यक्तिहरूबाटै बाल यौन दुर्व्यवहार घटेको प्रतिवेदनले देखाएको छ ।