अन्तर्राष्ट्रिय

भारतले आफ्नै रक्षा प्लेटफर्मको विकास गरिरहेको छ : अध्यक्ष गुप्ते

By खबरहब

March 01, 2024

नयाँ दिल्ली- बोइङ इण्डिया तथा दक्षिण एसियाका अध्यक्ष सलिल गुप्तेले भारतले आफ्नै रक्षा प्लेटफर्मको विकास गरिरहेको टिप्पणी गरेका छन् । अध्यक्ष गुप्तोले भारत रक्षा उपकरणको आयातकर्ता मुलुक भएपनि पछिल्लो समय भने विस्तारै रक्षा प्लेटफर्मको विकासमा लागिरहेको बताए ।

अध्यक्ष गुप्तेले समाचार संस्था एएनआईसँगको कुराकानीमा प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको ‘मेक इन इण्डिया’ योजनाबाट भारतले रक्षा उपकरण उत्पादनमा फड्को मारेको बताए ।

उनले मेक इन इण्डिया योजनाअनुसार आफ्नो कम्पनीले हरेक वर्ष १० हजार करोड भारतीय रुपैयाँ बराबरको निर्यात गरिरहेको पनि जानकारी दिए । उनले भारतीय रक्षा क्षेत्रमा बोइङको सहकार्य निरन्तर रहने पनि उल्लेख गरे ।

उनले बैङ्गलोरमा नयाँ इन्जिनियरिङ केन्द्र बन्न लागेको जानकारी दिँदै यसबाट थप सहकार्य विस्तार हुने उल्लेख गरे । उनले आगामी २० वर्षमा आफ्नो कम्पनीले २५ सय वटा जहाज भारत आपूर्ति गर्ने योजना रहेको पनि जानकारी दिए ।