पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु लामा (५१) ले संघर्षलाई स्वीकार गर्नुपर्ने बताउँछिन् । कक्षा चारसम्म अध्ययन गरेकी उनी किताबले भन्दा धेरै सङ्घर्षले मानिसलाई पाठ सिकाउने बताउँछिन् ।
श्रीमानले कमाएर ल्याउने र उनले घर सम्हाल्दै थिइन् । तर उनलाई समयले ठग्यो वा भाग्यले । कलिलै उमेरमा श्रीमानको मृत्यु भएपछि कहिले घरबाहिर ननिस्केकी विष्णुले फुटपाथ पसलदेखि टेम्पो चालकसम्मको यात्रा तय गर्नुपर्यो ।
काभ्रे रोशीकी विष्णुले सानै उमेरमा बिहे गरिन् । तारे होटलमा कुकको काम गर्ने उनका श्रीमान् राजेश लामाको राम्रै कमाइ थियो । काभ्रेकै तेमाल गाउँपालिकाका राजेश निकै मेहनती थिए ।
विष्णु आफ्नो संघर्ष र सफलताको कथा यसरी सुनाउँछिन्– पाँच दिदीबहिनी र दुई दाजुभाइमध्ये म काँइली हुँ । ६ वर्षको हुँदा बुबाको मृत्यु भएपछि आमाले निकै दुःख गरेर हुर्काउनु भयो । हामीले धेरै पढ्न पाएनौ । सानै उमेरमा मामाको छोरासँग बिहे गरिदिने कुरा घरमा गरे तर मलाई उसँग बिहे गर्न मन लागेन । मेरो रुचि अर्कै केटोमा थियो । ठूली दिदी बेली तामाङले मैले रुचाएको राजेशसँग कुरा गरेकी थिइन् ।
मलाई राजेश मन पर्थ्यो । पातलो, अग्लो र गहुँगोरो उनी निकै सुन्दर थिए । दिदीमार्फत नै मैले राजेशसँग भागीबिहे गरें। सानै उमेरमा बिहे गरे पनि सबै राम्रै थियो । राजेश मल्ल होटलमा कुकको काम गर्थे । बिहे भएपछि अलि धेरै पैसाको आवश्यकता पर्दै गयो । काम गरिराखेको ठाउँभन्दा बढी तलब पाउने भएपछि उनी नौबिसेको बाटो बनाउने बेला चाइनिजहरुको लागि हेडकुकको काम गर्न गए ।
त्यसैक्रममा हाम्रा एक छोरी र एक छोरा भए । सुख–दुख जीवन राम्रै चलेको थियो । त्यहाँ काम गर्दा गर्दै राजेश जर्मनी पनि गए । नेपालमा भन्दा धेरै राम्रो कमाइ भएकाले उनी जर्मनीमा ३ वर्ष काम गरे।
पछि आफ्नै देशमा काम गर्ने भनेर फर्किए । १० कक्षा पढेको भएपनि उनलाई चाइनिज, अंग्रेजी, जापानिज भाषा आउँथ्यो । जर्मनीबाट फर्किएपछि टुरिष्ट गाइडको काममा लागे ।
पर्यटक लिएर उनी नेपालको विभिन्न क्षेत्रमा जान्थे । एकदिन पोखराबाट पर्यटक लिएर काठमाडौं फर्किदै थिए । कुनै जनावरले बाटो काट्दा चालकले झ्याप्पै ब्रेक हान्दा उनको छाती बेस्सरी ठोक्किएछ । यो ०५२ सालको कुरा हो । घर आएपछि यहाँ दुख्यो यस्तो–यस्तो भएको थियो भनेर सुनाए । म लगायत दिदीहरूले अस्पताल जानु भन्यौँ। तर उनले ब्रुसेट खाएकाले त्यति धेरै दुखेको छैन, अस्पताल जानु पर्दैन भनेर जिद्दी गर्दै गए । तर केही दिनपछि ज्वरो आउन सुरु भयो ।
टिचिङ अस्पतालमा इमर्जेन्सीमा लगेर भर्ना गरियो । पिसाब नली फुटेर शरीरभरि पिसाब फैलिएको रहेछ । अस्पताल लगेको त्यही दिन नै राजेशले यो संसारबाट बिदा लिए ।
मेरो संसार उजाडियो । ती साना लालाबाला के गरी हुर्काउने होला ? एक त श्रीमानसँगको बिछोडले मैले आफूलाई सम्हाल्न सकेको थिइन्ँ । अर्को छोराछोरीको जिम्मेवारी थियो । अब को बाटो के हो ? मैले के गर्नुपर्छ भनेर सोच्न सकिन । श्रीमानसँगै गएर जानु पनि कर्तव्यबाट भाग्नुजस्तै थियो ।
वर्षदिन जति त म विक्षिप्त जस्तै भएँ । त्यो अवस्थामा छोराछोरी दिदीले हेरिदिइन् । उनैले मेरो बिहे गराइदिएकी थिइन् । ज्यान छोडेर बस्ने छुट थिएन मलाई । कुनै पनि हालतमा उठ्नु थियो ।
जागिर माग्न जाउँ, पढाइ छैन । काम माग्न कहाँ जाने ? कसकोमा जाने ? त्यसपछि उनले ०५४ सालमा केही गर्नुपर्छ भनेर फुटपाथमा श्रृंगारका सामान बेच्न थालें । रानीपोखरीमा बसेर काइँयो, जुत्ता बुरुस, पालिस, फिनेल, नङकट सबै बेच्न थालें । त्यतिबेला रानीपोखरीमा पुल नबन्दा टहराहरु थियो । केही पैसा जम्मा गरेपछि फुटपाथ छोडेर टहराको एक कोठा भाडामा लिएर पसल चलाएँ । त्यहाँ विक्रम ट्याम्पुको पार्क थियो ।
महिलाले टेम्पो चलाउँदा छक्क ०५५ सालमा पार्कमा एकदिन एक महिलाले टेम्पो चलाएको देखेँ । त्यो देखेर म त छक्कै परेँ । बुझ्दै जाँदा उहाँ झापाको सुमित्रा दंगाल हुनुहुँदो रहेछ । उहाँ नेपालको पहिलो टेम्पो चालक हुनुहन्छ ।
उहाँ चलाउने मात्रै होइन, महिलालाई चलाउन सिकाउनु पनि हुँदो रहेछ । डिग्री पढेको मान्छे हुनुहुँदो रहेछ । बैंकबाट ऋण लिएर महिलाहरूलाई टेम्पो सिकाउने भनेर लाग्नुभएको थियो ।
सुमित्रा मेडमसँग कुरा गरेर मैले टेम्पो चलाउन सिकें। मुन्द्रा बेचेर ५ हजार रुपैयाँ तिरेर सिकेको हो । १४ जनाको ग्रुपमा सबैभन्दा छिटो मैले सिकें । १५ दिनमा त अरुलाई सिकाउने भइसकेको थिएँ ।
कालो प्लेटमा टेम्पो चलाउने महिला पहिलो सुमित्रा मेडम पछि दोस्रो म नै हो । घण्टाघरमा लाइसेन्सको परीक्षा दिन गएको दुईपटक लिखित परीक्षामा फेल भएँ । रातभरि पढेर परीक्षा दिँदा पनि लाइसेन्स हात परेन ।
फिल्डमा म भन्दा कमजोर साथी दुईजनाले लाइसेन्स निकाले तर मेरो निस्किएन । पढाइको महत्व मैले त्यतिबेला बुझेँ । काममा योग्य हुन हातमा सीप मात्र होइन, दिमागमा ज्ञान पनि हुनुपर्ने रहेछ । तेस्रोपटक २०५६ सालमा लाइसेन्स निकालेँ ।
पैसा कमाएर बच्चाहरूलाई राम्रोसँग पढाउनुपर्छ भन्ने थियो । श्रीमान हुँदादेखि नै गाडी चलाउन मन लाग्थ्यो । तर उनले चलाउन दिएनन् । अब त मलाई रहरको लागि भन्दा पनि काम गरेर खाने बाध्यता थियो । त्यसैले आफ्नो रुचिको कामलाई रोजें ।
कलंकी…कलंकी…सुन्धारा…सुन्धारा …भन्दै चिच्याएँ…..
पहिलो दिन टेम्पो लिएर सडकमा निस्किएको दिन निकै खुसी भएँ । पहिलो दिनको कमाइ चारसय रुपैयाँ थियो । सुन्धारादेखि कलंकीको रुटमा चलाउँथे । काम गरेर खान कहिल्यै लाज लागेन । त्यसकारण पहिलो दिन ‘कलंकी…कलंकी…सुन्धारा…सुन्धारा …’ भन्दै चिच्याएर यात्रु बोलाएँ ।
अर्को सीप सिक्ने सवालमा पैसाको लोभ गर्नुहुँदैन । पैसा लियो भनेर गुरुको आलोचना गर्नुहुँदैन । पहिले फुटपाथमा व्यापार गरेकाले भाडा फिर्ता लिने दिने हिसाबमा परिपक्व भइसकेको थिएँ ।
सडकमा रमाइरहेको थिएँ, कमाइ पनि राम्रै थियो । बुवा नभएपनि छोराछोरीलाई उनीहरूले सकेको जति पढाउनुपर्छ भन्ने थियो । काममा आफूलाई भुलाउँदै दुख पीडा छायाँमा पार्दै गएको थिएँ । टेम्पो चलाउन थालेको करिब साढे दुई वर्ष भएको थियो ।
छोरालाई होस्टलमा राखेर पढाएको थिएँ । आमाछोरी असनमा एक कोठा लिएर बसेका थियौँ । एकदिन अचानक कोठामा निकै ठुलो दुर्घटना भयो । २०५७ सालको कुरा हो । त्यो दिन छोरी मामाको घर गएकी थिइन् ।
म दिनभर टेम्पो चलाएर कोठामा फर्किएको थिएँ । त्यतिबेला शुक्रबार नेपाल टेलिभिजनबाट ‘हिजो आजको कुरा’ आउँथ्यो । खाना पकाएर छिटो–छिटो खाएर कार्यक्रम हेर्नुपर्छ भनेर लागेको थिएँ ।
स्टोभ अन गरेर बाल्न खोजेको लाइटर भेटिनँ । स्टोभ बन्द नगरी घरबेटीसँग लाइटर माग्न गएँ । छिटो–छिटो लाइटर लिएर आएको थिएँ । स्टोभबाट मट्टितेल निस्किएको रहेछ । लाइटर के बालेको थिएँ । ह्वात्तै आगो टिप्यो ।
आगोले मेरो हात, घाँटी र अनुहार पोलियो । आँखा धमिलो भएको थियो । के गर्ने, कसो गर्ने मेसो नपाउँदा धेरै जल्न पुगेँ । कोठामा साथी कोही नभएकाले पनि जलेँ । कोही भएको भए आगो निभाइदिन्थ्यो होला ।
सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरें ।दुर्घटना भएपछि छोरा होस्टलबाट फिर्ता आयो । राख्न सकिन, उसलाई भाइबुहारीले हेरे । छोरीलाई क्षेत्रपाटी बालविकास स्कुलको प्राध्यापक केशरी गुरुङले जिम्मा लिनुभयो । उहाँले आफ्नै घरमा राखेर पढाइदिनु भयो ।
१४ महिना अस्पतालमा बसेर उपचार गरेपछि यो नर्मल जस्तो भएको हो । जर्मनीबाट डाक्टर ल्याएर उपचार गरेका थिएँ । तर पोलिएको दाग लुकाउन त कसरी सकिन्छ ? अस्पतालबाट घर फिर्ता आएपछि दुबै छोराछोरीलाई फिर्ता ल्याएँ ।
सबै परिवार जम्मा भएर कोठा लिएर सँगै बस्न थाल्यौ । मलाई संघर्ष गर्नुभन्दा बाँच्नु नै ठूलो लाग्यो । घाउ भएपनि म जिउँदो थिएँ । जिउँदोले कहिँबाट पनि सुरु गर्छ । छोराछोरीको लागि बाउ पनि मै थिएँ र आमा पनि मै थिएँ । संघर्षलाई स्वीकार गरेर अगाडि बढे ।
अस्पतालबाट फिर्ता आउँदा म पहिले जस्तो थिइन् । घाउ पुरै रातो थियो । सलले छोपेर फेरि टेम्पो चलाउन गएँ । त्यतिबेला निलो टेम्पो भन्ने थियो । त्यहिपनि महिला भनेर साहुहरुले टेम्पो चलाउन नदिने ।
अस्थायी रुपमा मेडिकल कलेजको गाडी पनि चलाएँ । त्यहाँ पनि आइमाई मान्छे भनेर स्थायी चलाउन नदिने रहेछन् । महिलालाई पत्याइँदैन रहेछ भनेर मैले त्यतिखेर जाने । सीप भएको भएपछि महिला र पुरुष किन विभेद गर्नुपर्छ ? तर समाजले महिलालाई दोस्रो दर्जाको नागरिक नै मान्ने रहेछ ।
पुरुषले छोडेको काम गर्नुपर्ने रहेछ । त्यो पनि कसैले दया गर्यो भने मात्रै पाइने । श्रमिक भएर लडें, महिला भएर लडें । जे –जे पर्छ, कसैसँग हार मानेर पछाडि फर्किइन । मत स्थायी चलाउन दिन्छ कि भनेर गएको थिए । नपाएपछि फेरि टेम्पो मै फर्किएँ । यता राम्रो हुन्छ कि, कता राम्रो हुन्छ भन्दै भौँतारिए ।
२०६२-६३ को आन्दोलनपछि समय केही फक हुँदै गयो । १९ दिने जनआन्दोलनसँगसँगै संगठनमा लागें । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको बागमती अञ्चल महिला कमिटीको अध्यक्ष भएर आन्दोलनको नेतृत्व लिएँ ।
ठुलाबडादेखि सरकार सबैले मजदुरलाई दमन गरेका थिए । त्यसकारण आन्दोलनमा होमिएँ । म ठुलो नेता हुन संगठनमा लागेको होइन । मेरो क्षेत्रमा धेरै समस्या छ । ट्राफिकले अनावश्यक दुख दिने, बढी जसो महिला चालकसँग त प्रहरीले फोन नम्बर मागेर दुख दिएका छन् ।
लाइसेन्स समाउने फोन नम्बर माग्ने । त्यसको लागि कसले बोल्ने त ? म उनीहरुको हक अधिकार सुरक्षाको लागि संगठनमा लागेको हो । जथाभावी चिट काट्ने लगायत सडकमा हुने हरेक प्रकारका हिंसा र विभेदका विरुद्ध काम गर्नुपर्छ भनेर लागेको हुँ ।
पहिले चार कक्षा पढेँ । पछिफेरि चार कक्षामै भर्ना भएर आठ कक्षासम्म पढें । बुढो भएपछि पढ्न गाह्रो हुँदो रहेछ । अब पढाइ अघि बढाउन सक्दिनँ । तर धेरै पढ्न नसकेपनि मलाई गुनासो छैन । छोरीले पढ्ने भए पढ्नु भनेकी छन् । तर अब सक्दिन भन्ने लागेको छ ।
संघर्षले नै धेरै कुरा सिकायो । श्रीमानको भर बसेको मान्छे, एकैपटक सबै व्यवहार र छोराछोरी जिम्मा लिनु पर्याे । नबोली र डराएर बसेर सुखै थिएन । पहिले बोल्न पनि सक्दिनथे । संगठनले आफ्नो र अरुको पनि हकको लागि लड्न सिकायो ।
आन्दोलन सकिएपछि बस चलाउँछु भनेर स्वयम्भू यातायातमा एक वर्ष सहचालकको काम गरें । बिहान पाँच बजेदेखि बेलुका ९ बजेसम्म ढोका उभिएर काम गरें । लाइसेन्स बनाउन घुस खुवाउनुपर्ने रहेछ ।
साथीहरुले घुस खुवाएर लाइसेन्स निकाले तर मलाई घुस खुवाउन मन लागेन । हेभी गाडीको लागि पनि लिखित परीक्षामा पास हुन सकिन । त्यसपछि ट्याक्सी चलाएँ। दुई वर्ष अगाडि सम्म चलाएँ ।
केन्द्रिय कमिटीको उपाध्यक्ष भएपछि यता पनि समय दिनुपर्ने भयो । महिला कमिटीको सातै प्रदेशको अध्यक्ष भएँ । त्यसपछि छोराछोरीले पनि अब काम गर्नुपर्दैन भन्न थाले । त्यसपछि दुई वर्ष अगाडिबाट ट्याक्सी चलाउन छोडें ।
छोराले होटल म्यानेजमेन्ट पढ्यो र अहिले दुबईमा छ । छोरी एयरहोस्टेज हुन् । उनले दुबई एयरलाइन्समा काम गर्थिन् । ५ वर्ष उनले काम गरेपछि बिहे गरिन् । अहिले अमेरिकामा दश महिनाको छोरा हुर्काउँदै छिन् । ज्वाईं अमेरिकी सेनामा कार्यरत हुनुहुन्छ ।
छोराछोरीलाई आ–आफ्नो खुट्टामा उभिने बनाएँ । छोरीको पढाई असाध्यै राम्रो थियो । प्लस टु ब्रिटिस कलेजमा पढाएकी हुँ । टेम्पो चलाएर त्यति महङ्गो कलेज पढाएँ । पढाइ राम्रो हुन्छ भनेर पढाएको । छोरीले चाहेको विषय र चाहेको कलेजमा पढोस् भनेर हिम्मत नहारी भर्ना गरेँ । गाह्रो भने निकै भएको थियो ।
गतवर्षको पुसमा जर्मनी गएँ छोरीलाई भेट्न । ज्वाइँको मिसन जर्मनमा थियो । एकपटक घुम्न बोलाइन् र अर्कोपटक छोरी सुत्केरी हुँदा हेरचाह गर्न गएँ । दुख पर्दा दिदी भाइ बुहारीले साथ दिए । साना केटाकेटी उनीहरूले हेरिदिँदा काममा जान पाए ।
पैसा कमाउन पाए । छोराछोरीलाई पढाउन पाए । मैले कमाएको भनेको छोराछोरीलाई उनीहरुले सोचे अनुरुपको शिक्षा दिन सके त्यही हो । अरु घर गाडी सम्पत्ति जोड्न सकिन । अहिले छोराछोरीले नै काठमाडौंको माछापोखरीमा चार तलाको घर बनाइदिएका छन् ।
अहिले घरमा एक्लै बस्छु । एक तला भाडामा दिएकी छु । बाँकी सबैमा आफै बसेको छु । पहिले पाँच सय कोठा भाडा पनि तिर्न नसक्ने अवस्था थियो मेरो । ऋण छैन, भाडामा दिन पर्दैन भन्छे छोरी ।
अब संगठनमै बसेर श्रमिकहरुको लागि काम गर्छु । उनीहरुकै लागि जीवन समपर्ण गर्छु ।