काठमाडौं – जतिसुकै घमण्ड भए पनि आर्यघाट पुगेपछि जिन्दगीबारे मान्छेको परिभाषा बदलिन्छ। घाट जहाँ लाशमाथि चढाएको पैसा टिप्नेसम्म मान्छे हुन्छन्। त्यसका लागि लडाइँ नै गरेको देखिन्छ। अन्तिम बिदाइका लागि ओढाएका खादा, रामनवी र अन्य कपडा तान्ने समूह पनि छुट्टै छ। हिन्दु धर्मावलम्बीको पवित्र ठाउँ पशुपति। बागमती किनारको पशुपति आर्यघाट शरीर बिसर्जन गर्ने ठाउँमात्रै होइन। ‘ब्रह्मनाल’ नजिकै ‘पशुपतिनाथ आर्यघाट सेवा केन्द्र’ पनि छ। जसले धेरैलाई पुनर्जीवन दिइसकेको छ। सेवा केन्द्र कुनै अस्पताल भन्दा कम छैन। बाँच्ने आशा मारिसकेका बिरामी त्यहाँ पुग्छन् र कतिपय बिरामी निको भएर घर फर्किन्छन्। त्यही केन्द्रमा सेवाभावले जिन्दगी अर्पण गरेका केही पात्र छन्। त्यस्तै एउटा नाम हो कल्याणी विष्ट। जो पेशाले नर्स हुन्। जसको दैनिकी अन्तिम धुकधुकी कुरेर बसेका मान्छेको सेवा गर्नु हो। सेवा केन्द्रमा २४ घण्टा खटिने एक्ली नर्स हुन् कल्याणी। खबरहबका लागि पशुपतिनाथ आर्यघाट सेवा केन्द्रमा १० वर्षदेखि सेवारत नर्स कल्याणी विष्टसँग गरिएको कुराकानीः
यहाँ आउने एक सय जना बिरामी मध्ये तीन वा चार जना राम्रै भएर फर्किएका छन्। उनीहरु एक वर्ष, पाँच वर्ष, १० वर्षसम्म बाँचेका रेकर्ड पनि छन्।
आर्यघाटमा बसेर अन्तिम अवस्थाका बिरामीहरुको सेवामा लागिरहनुभएको छ, यो प्रेरणा कहाँबाट मिल्यो ? पहिले मैले सिएसडब्लु भन्ने तालिम गर्दा आर्यघाट सेवा केन्द्रमा आएकी थिएँ। मलाई बुढाबूढी र बच्चा मन पर्ने। त्यसमा पनि अन्तिम अवस्थाका बिरामीको सेवा गर्ने मौका पाउँदा आनन्द लाग्यो। विस्तारै यही सेवा केन्द्रमा जोडिएँ।
यहाँ कस्ता कस्ता बिरामी आउँछन् ? अन्तिम अवस्था भएका दुई तीन थरीका बिरामी आउँछन्। अस्पतालले तपाईंको बिरामीलाई औषधीले काम गरेन अब निको हुँदैन भनेपछि यहाँ ल्याउँछन्। अर्कोथरी पशुपतिमै गएर बित्ने इच्छा राखेका उमेर पुगेका आउँछन् भने अर्को काठमाडौंमा डेरा गरेर बसेका बिरामीलाई घरमालिकले आफ्नो घरमा मान्छे मर्दा घर अपवित्र हुन्छ भनेर बस्न नदिएपछि त्यस्तो अवस्थाका बिरामी यहाँ आउने गर्दछन्।
बिरामीबाट शुल्क लिनुहुन्छ कि निःशुल्क उपचार हुन्छ ? बिरामीका परिवारबाट थोरै रकम डिपोजिट राखेर उपचार गर्छौं। केही दिनमै बिरामी बितिहाले भने सरसफाई लगायतको थोरै रकम काटेर अरु पैसा फिर्ता गर्छौं। कसैले फिर्ता लिन्छन् भने कसैले लिँदैनन्। त्यही रकमबाट अक्सिजन र अन्य मेसिनको ममर्त गर्ने गरिएको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीसँग त्यो शुल्क पनि लिने गरिएको छैन।
कति बिरामी त निको भएर लामो समय बाँचेका पनि छन् भनिन्छ। कति बिरामी बचाउन सक्ने अवस्थामा आउँछन् ? यहाँ आउने एक सय जना बिरामी मध्ये तीन वा चार जना राम्रै भएर फर्किएका छन्। उनीहरु एक वर्ष, पाँच वर्ष, १० वर्षसम्म बाँचेका रेकर्ड पनि छन्। त्यस्तै प्रत्येक महिना ४/५ जना फर्केर जान्छन्। तर कोही एक हप्तामा वा दुई दिनमै बित्ने पनि छन्।
उपचारको विधि के छ ? आवश्यकता अनुसार आयुर्वेदिक र एलोपेथिक दुवै पद्धतिबाट उपचार गरिन्छ। म नर्स हुँ बिरामी पीडाले छटपटाइरहेको अवस्थामा पेनकिलर दिने, अक्सिजन लाइदिने, पिसाबको पाइप, राखिदिने, नाकको पाइप राख्ने, खुवाउने सबै काम मैले गर्छु। वैद्य बा (सुवर्ण वैद्य) ले आयुर्वेदिक औषधी दिनुहुन्छ।
पशुपति विकास कोषले औषधी र उपचारमा के कस्तो सहयोग गरेको छ ? यो घर पशुपति विकास कोषकै हो। हामीले बत्ती र पानीको बिल पनि तिर्नुपर्दैन। त्यो बाहेक सहयोग गरेको थाहा छैन। औषधीको कुरा गर्नुपर्दा विभिन्न संघ संस्थाको सहयोगमा मैले आफैले व्यवस्था गर्ने गरेको छु भने आयुर्वेदिक जडिबुटीहरु वैद्य बा आफैले ल्याउनुहुन्छ। कोही बिरामीका आफन्तहरुले सहयोग गर्न चाहेमा पनि औषधी भन्छौं। त्यही अनुसार ल्याएर दिने गर्दछन्।
सुवर्ण वैद्य ।
काम गर्न कत्तिको सहज छ ? काम त कुनै पनि सहज छैन। आफैले सहज बनाउने हो। कुनै पनि कामबाट केही पाउने आशा राख्यो भने सहज हुँदैन। तर मैले मात्रै सेवा गर्न चाहेको हो। त्यसैले आवश्यकता अनुसार २४ घण्टै सेवामा लागिरहेकी छु। वैद्य बा बेलाबेलामा आउनुहुन्छ। कहिलेकाहीँ महिनामा ५० जना सम्म पनि बिरामी आउँछन्। कहिले खाली पनि हुन्छ।
उमेर पुगेका बिरामीहरु धेरै आउँछन् या कलिलै उमेरका बिरामी आउँछन् ? सबै उमेर समूहका बिरामी आउँछन्। लिभर सिरोसिस, ब्रेन हेमरेज, हर्ट अट्याक लगायत समस्या भएर उपचार गर्दागर्दै थाकेका कलिलै उमेरका बिरामी पनि आउँछन्। त्यस्तै भर्खरै जन्मिएका बच्चा पनि ल्याउँछन्। एउटा ७ दिनको बच्चा मैले तीन दिनसम्म हेरेँ। अभिभावक दिउँसो आउँथे। राति आफैसँग राख्थेँ। तीन दिनमा बच्चालाई हामीले गुमायौं। उमेर पुगेकालाई त अब उमेर पुग्यो जानेबेला भइसक्यो भन्ने हुन्छ। तर बच्चालाई सकेसम्म बचाउने प्रयास नै गर्छन्। केही गरी भएन भने मात्रै यहाँ ल्याइन्छ।
लामो समयदेखि निःशुल्क सेवा गरिरहनुभएको छ, कसरी चलिरहेको छ जीवन ? यहाँ त सेवा मात्रै भयो। जीवन चलाउन पैसा पनि चाहिन्छ। त्यसैले मैले अफ्नै केयर होम चलाइरहेकी छु। मैले आफ्नो जीवनको १० वर्ष यो सेवा केन्द्रमा बिताएँ। त्यस बिचमा कतिपय बिरामीका आफन्त बिरामीलाई कतै लगेर राख्न पाए आफ्नो काम गर्न सहज हुने थियो भन्ने पनि छन्। त्यस्ता बिरामीलाई न्यूनतम शुल्कमा मैले आफ्नो केयर होममा पनि सेवा दिइरहेकी छु। जसबाट जीवन चलाउन अलि सहज भएको छ। अब सकुञ्जेल यसरी नै सेवा गर्छु।
जीवन के हो ? छोराछोरी को हुन् ? रोग लागेपछि आफन्तबाट कस्तो व्यवहार हुन्छ ? माया के हो ? यहाँ आएर बसेपछि सबै कुरा थाहा हुन्छ।
पारिवारिक सहयोग कत्तिको पाउनुभएको छ ? मैले अहिलेसम्म बिहे गरेको छैन। घरपरिवारबाट अहिले पनि बिहे गर भन्ने दबाब आइरन्छ। तर मैले मानेको छैन। जीवन के हो ? छोराछोरी को हुन् ? रोग लागेपछि आफन्तबाट कस्तो व्यवहार हुन्छ ? माया के हो ? यहाँ आएर बसेपछि सबै कुरा थाहा हुन्छ। मान्छे अन्तिम अवस्थामा छट्पटाइरहँदा आफन्त बित्न कति घण्टा लाग्छ भन्दै समय हेरेर बसिरहेका हुन्छन्। हुन त बिरामीले दुःख पाइरहेको देख्दा चाँडो सास गए नि हुन्थ्यो भन्ने लाग्छ होला। कुर्दाकुर्दै थाकेर पनि होला। जे भए पनि वास्तविक संसार, माया, मोह यहाँ आएर देखेकी छु। त्यसैले कसैको सहयोग पाए पनि नपाए पनि सकुञ्जेल सेवा गरेर बस्छु।