काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक आगामी असार ४ देखि ७ सम्म काठमाडौंमा हुने भएको छ । अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा बैठक आयोजक समिति गठन गरिएको छ ।
आइडीए विश्व बैंकबाट सहुलियतपूर्ण ऋण प्रवाह गर्ने निकाय हो । विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भएको भेटमा अर्थमन्त्री वर्षमान पुनले समितिको विषयमा जानकारी दिइसकेका छन् ।
बैठकमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा नै सहभागी हुनेछन् । बैठकपछि उच्च अधिकारीहरूले विश्व बैंकको लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत अध्ययन गर्ने उपाध्यक्ष मार्टिनले जानकारी दिएका छन् ।
नेपाल सरकारले यसलाई हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने जनाएको छ । आइडीएको २१औं बैठक आयोजना गर्न नेपालसहित विभिन्न देशले प्रस्ताव राखेकोमा विश्व बैंक समूहले नेपाल रोजेको हो ।