मोरङ – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा उद्योग संगठन मोरङले श्रमिकलाई सम्मान गरेको छ । संगठनले सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत तीन जना श्रमिकलाई सम्मान गरेको हो ।
श्री रघुपति जुट मिल्स लिमिटेडमा ३३ वर्षदेखि कार्यरत बलराम मण्डल, रिलायान्स स्पिनिङ मिल्समा २७ वर्षदेखि कार्यरत राम पवित्र साह र स्वस्तिक आयलमा ३६ वर्षदेखि कार्यरत ललनकुमार राय सम्मानित भएका हुन् ।
संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपीन कावरा र ट्रेड युनियन प्रदेश कमिटीका अध्यक्षहरूले संयूक्त रूपमा खादा तथा माला लगाई सम्मानपत्र र जनही ११ हजार रुपैयाँ नगद पुरस्कारसहित श्रमिकलाई सम्मान गरेका हुन् ।
श्रमिकहरूलाई शुभकामना दिँदै संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगको उत्पादकत्व अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माण गर्न श्रमिक र रोजगारदाता दुबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले उद्योगी र श्रमिकबीच निरन्तर सम्वाद र सहकार्यले आपसी सम्बन्ध थप प्रगाढ भई असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने पनि उल्लेख गरे ।
संगठनका रोजगारदाता उपाध्यक्ष विपीन कावराले श्रमिक र रोजगारदाता एकअर्कासँगको सहकार्यले मात्र असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका कोशी प्रदेशका अध्यक्ष किशोर धमला र ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले श्रमिक दिवस अवसरमा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिकबीच सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गरे ।