काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमिकको समस्या समाधान निम्ति भन्दै ‘श्रमाधान योजना’ घोषणा गरेका छन् । यो योजनाबाट श्रम र रोजगारीसँग सम्बन्धित सम्बन्धित समस्या समाधान हुने मन्त्री अर्यालले दाबी गरेका छन् ।
श्रमाधान योजनाले नेपाल र विदेशमा रहेको नेपाली श्रमिकको सबै खालको समस्या एकद्धारा प्रणालीबाट समाधान गर्ने जनाउँदै विभागीय मन्त्री अर्यालले वृहत रूपमा श्रमिकको समस्या समाधानदेखि जिज्ञासा, सुझाव तथा गुनासोलाई सम्बोधन गर्ने गरी योजना ल्याइएको बताए ।
श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रसँग सम्बन्धित कार्यक्रम प्रस्ताव गरिएको छ । यसअन्तर्गत पहिलो कार्यक्रमलाई ‘सेकेन्ड इनिङ्ग्स’ नाम दिइएको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाश भएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा काम गर्ने मन्त्री अर्यालले दाबी गरे ।
दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगारदाता र रोजगारी खोज्ने बीच समन्वय गर्नेछ । तेस्रो भनिएको ‘समता’ कार्यक्रमले समानता प्रत्याभूत गराउने लक्ष्य रहेको मन्त्री अर्यालको भनाइ छ । उनका अनुसार यो कार्यक्रममार्फत विशेष समुदायलाई प्राथमिकता दिइनेछ ।
चौथोमा ‘ल’ कार्यक्रम छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानूनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रमसम्बन्धी कानून सबैले जानुन भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए ।
पाँचौं नम्बरमा मन्त्री अर्यालले ‘कनेक्ट’ कार्यक्रम अघि सारेका छन् । विश्व श्रम बजारमा नेपाली श्रमिकलाई प्रतिष्पर्धी बनाउने यो कार्यक्रमको उद्धेश्य रहेको मन्त्रीले बताए । यसैगरी छैठौं नम्बरमा रहेको ‘साथ’ कार्यक्रमले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया, कर्मचारी रहेको आभाष गराउने लक्ष्य राखेको छ ।
सातौं नम्बरमा मन्त्री अर्यालले ‘कल सेन्टर’ कार्यक्रम राखेका छन् । कल सेन्टरबाट श्रमिकका समस्या तथा जिज्ञासा संकलन गरी सम्बन्धित निकायमार्फत समाधान गरिने मन्त्रालयले जनाएको छ ।
श्रमाधान योजनाका सात कार्यक्रमलाई क्रमिक रूपमा सञ्चालनमा ल्याइने मन्त्री अर्यालले बताएका छन् । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने उनले बताए ।
कल सेन्टर हप्ताको सातै दिन/चौबीसै घण्टा उपलब्ध हुने मन्त्रीले दाबी गरेका छन् । समस्या समाधानका लागि कल सेन्टरबाट सम्बन्धित निकायका फोकल पर्सनसम्म सम्बन्धित मामिला पुर्याइनेछ । कल सेन्टरमा मिसकलमा आएको अवस्थामा पनि कलब्याक गरिने मन्त्रीले बताएका छन् ।
दोस्रो चरणमा विदेशमा आधारित एसआइपी लाइन, आइभीआर (इन्टरएक्टिभ भ्वाइस रेसपोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सेपलेनर, टायम कार्ड, कि पर्फमेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याइने मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
श्रमाधान योजनाको पूर्णपाठ :